६ जना थुनुवा भागेको घटनामा असईसहित ३ प्रहरी निलम्बित

Posted on: 31 Jan, 2023

माघ १७, धनुषा | धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट थुनुवा भागेको घटनामा ३ जना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी सहायक निरीक्षक (असई) अशोक कुमार मण्डल सहित ३ जनालाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीप क्षेत्रीले बताए ।

माघ १५ मा राति हिरासतबाट ६ जना थुनुवा भागेका थिए । सो रात डिउटीमा खटिएका असई मण्डल, वरिष्ठ हवलदार सरोज रेग्मी र जवान रोहन मगरलाई निलम्बन गरेको डिएसपी क्षेत्रीले जानकारी दिए । वरिष्ठ हवलदार र जवानलाई जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको हो । असईलाई मधेस प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको हो ।

इलाका प्रहरी कार्यालयका २६ जना प्रहरीलाई जिल्लामा झिकाइएको छ । इलाका इन्चार्ज बेचन यादवलाई पनि जिम्मेवारीबाट हटाउने तयारी छ । हिरासतबाट भागेका मध्ये मिथिला नगरपालिका–६ का रोशन महतोलाई पुन:  पक्राउ गरिएको छ । ५ जनाको खोजी भइरहेको डिएसपी क्षेत्रीले बताए । प्रहरीले उनीहरूलाई हातहतियार तथा खरखजना मुद्दामा म्याद लिएर हिरासतमा राखेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!