सम्पत्तिका लागि छोरा र ज्वाइँकै योजनामा बुवाको हत्या

Posted on: 04 Jan, 2023

पुस २०, काठमाडौँ | धनुषाको मुखियापट्टी मुसहरनियामा धनुक दासलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले छोरा र ज्वाइँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पुस ९ गते साझ साढे ७ बजे धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका—२ का ४० वर्षीय धनुक दासलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा छोरा प्रदीप दास, ज्वाइँ उदय दास र गोली प्रहार गर्ने रञ्जित यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर साह नेतृत्वको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त प्रहरी टोलीले हत्यामा संलग्न भएकालाई पक्राउ गरेको हो ।


बुवाले दोस्रो विवाह गरेको र दोस्रो श्रीमतीबाट छोरी जन्मेपछि सम्पत्ति बाँडिने भएपछि जेठी श्रीमतीको छोरा र ज्वाइँले ५ लाख भारतीय रुपैयाँमा हत्या गराउने योजना बनाएको प्रहरीले जनाएको छ । हत्याको योजना बनाएको आरोपमा पक्राउ परेका ज्वाइँ उदय नेपाल प्रहरीका सहायक हवल्दार हुन । उनी अहिले मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा सवारी चालक हुन् ।

धनुक दासलाई गोली प्रहार गरी हत्या भएको ३ दिनपछि उदयले गोली प्रहार गर्ने रञ्जितलाई ५ लाखमध्येको ३ लाख रुपैयाँ दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । हत्या आरोपमा पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि म्याद लिने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!