धनुषा प्रहरीले भन्यो- मुस्लिम आयोगका अध्यक्षलाई पक्राउ गरेका छैनौँ

Posted on: 12 May, 2022

वैशाख २९, धनुषा | धनुषा प्रहरीले मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारीलाई पक्राउ नगरेको प्रष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यममा अध्यक्ष अन्सारीलाई पक्राउ गरेको समाचार आएपछि प्रहरीले पक्राउ नगरेको प्रष्ट पारेको हो ।

धनुषा प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले पक्राउ परेको भन्ने समाचार झुठा भएको बताए । ‘बिहानदेखि २० जनाले फोन गरेर सोधिक्नुभयो । उहाँ पक्राउ पर्नु भएको होइन् । साथीको घरमा खाना खान गएपछि पैसा बाड्न आएको भन्दै केहीले होहल्ला गर्नुभएको रहेछ । पछि हामीले उहाँको रेस्क्यू गरेका हौँ ।’ प्रवक्ता क्षेत्रीले भने । 

धनुषामा रहेका अध्यक्ष अन्सारी आज बिहान आफ्ना साथी तथा प्रदेशसभा सदस्य हकिम रहिमको घरमा खाना खान गएका थिए । प्रवक्ता क्षेत्रीका अनुसार त्यही खाना खाएर दिउँसो काठमाडौं फर्किने कार्यक्रम थियो । तर, पैसा बाँड्न आएको भन्दै होहल्ला भएपछि प्रहरीले उद्धार गरेको उनको भनाइ छ । 

प्रहरीले उद्धार गरेर उनलाई काठमाडौं पठाइसकेको छ । मतदातालाई प्रभावित पार्न पैसा बाँड्न खोजेको आरोप नेकपा एमालेले लगाएको छ । मुस्लिम समुदायका अगुवालाई बोलाएर अन्सारीले पैसा बाँड्न खोजेको सूचना पाएपछि आफूहरू त्यहाँ पुगेको नेकपा एमालेले जनाएको छ । तर, प्रहरीले भने साथीको घरमा गएको बेला एमाले कार्यकर्ताले पैसा बाँड्न आएको भन्दै हो-हल्ला गरेको प्रष्ट पारेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!