जनकपुरधाममा जानकी नवमी धुमधामका साथ मनाइँदै

Posted on: 29 Apr, 2023

बैशाख १६, जनकपुरधाम | आदर्श नारी सीताको जन्म भएको दिन आज जनकपुरधाममा जानकी नवमी धुमधामका साथ मनाइँदै छ । त्रेतायुगमा आजकै दिन मिथिलाञ्चलको जनकपुरधाममा जन्म भएको धार्मिक मान्यताअनुसार वैशाख शुक्ल नवमीको दिन आज घरघरमा विशेषरुपमा जानकी नवमी मनाउने कार्य भइरहेको जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दास वैष्णवले जानकारी दिनुभयो । 

बिहानैदेखि जानकी मन्दिर, राममन्दिर र जनक मन्दिरलगायतका मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुको भीड लागेको छ । बिहानै दूधमती नदीमा स्नान, १० बजेदेखि मन्दिरमा बधाइगान, १२ बजे प्राकट्य उत्सव, साँझमा जानकी डोला यात्रा, रातिमा तिल्कोत्सव र पुनःबधाई गानको कार्यक्रमसहित जन्मोत्सव मनाइरहेको उहाँले जानकारी दिनुभयो । 

त्रेतायुगमा मिथिला र अवध क्षेत्रको अगाध सम्बन्ध स्थापित गर्न भगवान् राम र माता जानकीको अतुलनीय योगदान रहेको छ । यहाँ हरेक वर्ष, राम नवमी, विवाह पञ्चमी र जानकी नवमी धुमधामका साथ मनाइने गरिन्छ । जानकी नवमीको अवसर पारेर मधेस प्रदेशका विभिन्न जिल्ला तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटक जनकपुर आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!