चुनाब जितेका नेता फर्केर नआएको गुनासो गर्दा मतदातामाथि हातपात

Posted on: 16 Nov, 2022

कात्तिक २९, धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा एक मतदातामाथि घरदैलोको क्रममा हातपात तथा अभद्र व्यवहार भएको छ । क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ बस्ने विशेश्वर महतोले आफूमाथि एमाले नेताकार्यकर्ताले घरदैलोको क्रममा हातपात गरेको आरोप लगाएका हुन् ।

एमालेका स्थानीय नेताकार्यकर्ता महेन्द्र यादव, पूर्व वडाध्यक्ष रामकिसुन यादव, ललित साह सहितका कार्यकर्ता घरमै आएर मंगलबार साँझ हातपात तथा अभद्र व्यबहार गरेको उनको आरोप छ ।

मंगलबार अपराहन्न साढे ५ बजेतिर एमालेकी समानुपातिक उम्मेदवार समुदा खातुनसहितका महिलानेतृ तथा कार्यकर्ता सूर्य छापमा मतदान गर्न आग्रह गर्दै उनको घरमा पुगेका थिए ।


महतोका अनुसार आफ्नी श्रीमती कविताले जितेपछि नेताहरु पाँच वर्ष फर्केर आउँदैन, किन भोट दिने भन्दै आक्रोश पोखेकी थिइन् । सोही कुरालाई लिएर उनीहरुबीच भानाभान भएको थियो । महतोले श्रीमतीको पक्षमा बोलेपछि तत्कालै फोन गरेर एमाले कार्यक बोलाएर हातपात तथा अभद्र व्यबहार गरेको बताए ।

उनले आफूमाथि कुटपिट गर्नेमाथि कारबाहीको माग गरेका छन् । स्थानीय प्रत्यक्षदर्शीले एमाले कार्यकर्ताको यो तरिका ठीक नभएको भन्दै विरोध गरेपछि उनीहरु फर्केका थिए ।

‘उनीहरुले मत माग्न गएका महिलालाई गाली गरेपछि हामी पुगेका थियौं । विशेश्वर उल्टै बढी बोल्न थालेपछि विवाद हुन्छ भनेर मात्र महेन्द्रजी र मैले धकेलेर घरभित्र पुर्याउन खोज्यौं । धक्काधुक्की मात्र भयो । कुटपिट गरेका हैनौं’ सोही घटनामा संलग्न भनिएका एमालेका स्थानीय नेता तथा पूर्व वडाध्यक्ष रामकिशुन यादवले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!