मङ्सिरमा उद्घाटन गरिएको भेन्टिलेटर भएन सञ्चालन

Posted on: 16 May, 2021

जेठ २, धादिङ (रासस)। गत वर्ष  उद्घाटन गरिएको भेन्टिलेटर लामो समयसम्म सञ्चालन हुन सकेको छैन । प्रदेश सरकारले गत वर्ष दिएको भेन्टिलेटर जिल्ला अस्पतालमा जडान गरियो । दुई भेन्टिलेटर र आठ श्ययाको आइसियु कक्षसमेत अस्पतालले निर्माण सम्पन्न ग¥यो तर भेन्टिलेटर आएको लामो समय भइसक्दा सञ्चालन हुन सकेको छैन । 

भेन्टिलेटर सञ्चालन हुन नसक्दा कोरोना भाइरस महामारीका कारण बिरामी परेका र भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने अवस्थाका बिरामीको ज्यान गइसकेको छ । दक्ष जनशक्ति र अक्सिजन व्यवस्थापन हुन नसक्दा भेन्टिलेटर भएर पनि सञ्चालन गर्न नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताउनुभयो । 

एनेस्थेसियालोजिस्ट एक, फिजिसियन एकजना र अक्सिजन प्लान्ट नभई चलाउन नसकिने भएकाले अस्पतालमा भेन्टिलेटरले बिरामी हेरेर बसिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताउनुभयो । श्वासप्रश्वासमा अति कठिन पर्दासमेत मानिस बचाउन सकिने भएकाले गत वर्ष कोरोना महामारी भएका बेला वाग्मती प्रदेश सरकारले भेन्टिलेटर उपलब्ध गराएको थियो ।

अस्पतालले कर्मचारी अभाव र अक्सिजनको व्यवस्थापन गर्न नसक्दा अत्यावश्यक पर्ने भेन्टिलेटरसमेत सञ्चालन गर्न सकेको छैन । यहाँबाट नुवाकोट सिफारिस गरिएका दुई कोरोना सङ्क्रमित बिरामीको ज्यानसमेत गइसकेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!