सिद्धलेक गाँउपालिकामा संचालित विद्यालयहरुको अनुगमन

Posted on: 28 Mar, 2019

चैत १४, धादिङ (रासस) | नागरिक समाजको तर्फबाट सिद्धलेक गाँउपालिकाको आधारभूत विद्यालय र माध्यमिक विद्यालयको शिक्षा क्षेत्रको सेवाप्रवाहको निगरानी गरिएको छ । पारस्पारिक जवाफदेहिता परियोजनाको पहलमा बुधबार नागरिक समाजले तीन विद्यालयमा अनुगमन गरेको हो । 

भौतिक संरचनाअन्तर्गत भवन र कक्षाकोठाको प्रयोग र सजावट अवस्थाबारे अवलोकन गरिएको थियो । त्यसैगरी विद्यालय हाताको फोहर व्यवस्थापन र सरसफाइको अवस्था र पाठ्यसामग्रीसहित पुस्तकालय र यसको प्रयोगबारे अवलोकन गरिएको थियो । विद्यार्थीको सिर्जनात्मक क्रियाकलाप प्रदर्शन गर्ने स्थान उपलब्धता र प्रयोगको अवस्था, खानेपानीको उपलब्धता कस्तो छ ? र पानीसहितको अपाङ्गमैत्री, छात्रामैत्री, सेनीटरी प्याड प्रयोग र डिस्पोजल गर्ने व्यवस्था कस्तो छ भनी अवलोकनमा अध्ययन गरिएको थियो । 

जवाफदेहिताअन्तर्गत वार्षिक कति दिन विद्यालय खुलेको, पठनपाठन भएको जम्मा दिन, वार्षिक बिदा, सरदर एक हप्तामा कति समय एउटा शिक्षकले अध्यापन गराउनुपर्ने, कक्षागत रूपमा सिकाइ उपलब्धि टाँस गरे÷नगरेको, कमजोर विद्यार्थीका लागि अतिरिक्त शिक्षण व्यवस्थाको अवस्था, पाठ्यपुस्तकको उपलब्धता, शैक्षिक कार्ययोजना निर्माण र कार्यान्वयन, गुनासो सुनुवाइको व्यवस्थालगायतका बारेमा स्थलगत अवलोकन गरी शिक्षकसँग छलफल गरिएको थियो । 

अनुगमनको अन्तमा विद्यालय सुधारको योजनाअनुसार कार्य गर्न विद्यालयका शिक्षक तथा अभिभावकलाई सुझाव दिइएको थियो । 

डेक नेपालको पारस्पारिक जवाफदेहिता परियोजनाअन्तर्गत गरिएको विद्यालय अनुगमन कार्यक्रममा गाँउपालिका अध्यक्ष प्रेमनाथ सिलवाल, उपाध्यक्ष कमला शर्मा, शिक्षा शाखा प्रमुख भुवन केसी, गाउँपालिका सल्लाहकार टङ्कनाथ तिमल्सिना र नागरिक समाजको तर्फबाट रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, नारी जागरण केन्द्रकी अध्यक्ष भगवती उप्रेती, दलित सेवा सङ्घका अध्यक्ष श्याम मगराती, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बेदबहादुर खाँण र पिजन खबरका सम्पादक गोमा थापाको सहभागिता रहेको थियो । 

जनप्रतिनिधिसहितको नागरिक समाजको अनुगमन टोलीले सिद्धलेक गाउँपालिकाको गोल्मारानी आधारभूत विद्यालय, जलेश्वरी माध्यमिक विद्यालय र मिन्दुका माध्यमिक विद्यालयको अनुगमन गरेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!