‘हनिट्रयाप’मा पारेर पाँच करोड माग्ने मुख्य योजनाकारलाई कारागार चलान

Posted on: 10 Jan, 2023

 पुस २६, दाङ । दाङ तुलसीपुरका एक ब्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर रु पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा–६ घर भइ हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने गहतरालाई कारागार चलान गर्न आदेश दिएको हो ।

जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलासले उनलाई जेल पठाउन आदेश दिएको हो । सिंहका दुईवटा नागरिकता भएकोसमेत भएको जनाइएको छ ।


हनिट्रयापको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । तीमध्ये तुलसीपुर–१८ ग्वारखोला निवासी ३६ वर्षीया कृष्णीकुमारी बस्नेतलाई पनि कारागार चलान गरिएको छ । उनलाई अदालतले रु एक लाख धरौटी तोकेको थियो । तर धरौटी तिर्न नसकेपछि कारागार चलान गरिएको हो ।

आपराधिक लाभ मुद्दा चलाइएका घोराही–१० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसी भने रु एक लाख धरौटीमा छुटेका छन् । प्रहरीले तीनै जनालाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

‘ब्ल्याकमेलिङ’ गर्दै मोटो रकम नदिए बलात्कार मुद्दा हाल्ने धम्की दिँदै ती पुरुषसँग उनीहरुले रु पाँच करोड माग गरेका थिए । उनीहरूले पटक–पटक गरी रु ३० लाख लगिसकेको खुलेको छ । पीडित पुरुषले मुख्य योजनाकार सिंहलाई ‘स्कुटरको लाइसेन्स’ र दुईवटा नागरिकता बनाउन सहयोग गरेकोसमेत खुलेको छ । त्यस्तै पीडित भनिएका तुलसीपुरका ती पुरुष प्रेम खड्कालाई पनि सरकारी कागज कीर्ते गरेको जनाउँदै मुद्दा चलाइएको छ । पक्राउ परेका खड्कालाई भने साधारण तारेखमा छाडिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!