हिरासतमा रहेका श्रीमान भेट्न गएकी श्रीमती लागुऔषधसहित पक्राउ

Posted on: 13 Dec, 2022

मङ्सिर २७, दाङ | दाङमा प्रहरीको हिरासतमा रहेका श्रीमानलाई लागुऔषध लिएर भेट्न पुगेकी एक महिलालाई प्रहरीले पक्राउ गरेकाे छ ।

हिरासतमा रहेका घाेराही–१५ का २२ वर्षीय अशोक खड्कालाई भेट्न आएकी उनकी श्रीमती शान्ति घर्ती खड्का १२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेकी हुन् ।


जिल्ला प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार हिरासतमा रहेका खड्का तीन दिनअघिमात्र लागुऔषधसहित पक्राउ परेका थिए ।

सोमबार बिहान ७ बजे हिरासतमा रहेका श्रीमानलाई भेट्न भन्दै शान्ती जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् । फलफूल लिएर श्रीमानलाई भेट्न गएकी उनलाई चेकजाँच गर्दा ब्राउनसुगर फेला परेको हो ।

‘हिरासतमा श्रीमानलाई भेट्न आएको बेला चेकजाँच गर्दा केराभित्र लुकाएको अवस्थामा लागुऔषध भेटियो,’ प्रहरी नायव उपरीक्षक गौतमले भने ।

गौतमका अनुसार उनी लागुऔषध दुर्व्यसनी रहेका आफ्ना श्रीमानलाई हिरासतभित्र लागुऔषध दिने उद्देश्यले पुगेकी थिइन् ।

प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । उनीमाथि लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाउने तयारी भइरहेको गौतमले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!