दाङमा ७ र गुल्मीका २४ सङ्क्रमितको मृत्यु

Posted on: 16 May, 2021

जेठ २, देउखुरी (रासस) । कोरोना सङ्क्रमणका कारण आज दाङमा एकैदिन सातकोे मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार अक्सिजनको अभावका कारण तीन जनाको उपचारका क्रममा, तीनको होमआइसोलेशनमा र एकको बाटोमै मृत्यु भएको कोभिड फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । 

लमही–६ का ५९ वर्षीय पुरुष, घोराही–९ का ३० वर्षीय पुरुष र घोराही–९ का ६९ वर्षीय पुरुषको होमआइसोलेशनमा मृत्यु भएको छ । त्यस्तै तुलसीपुर–१६ का ७८ वर्षीय पुरुषको मेट्रो अस्पताल तुलसीपुरमा, घोराही–१४ का ७४ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बेलझुण्डी र घोराही–१८ का ७० वर्षीया महिलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको चन्दले जानकारी दिनुभयो । 

घोराही–१४ का ६४ वर्षीय पुरुषको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ  । दाङमा कोरोना सङ्क्रमण दर बढ्दै गएको र  हालसम्म २ हजार ९८० सक्रिय सङ्क्रमित रहेको र ५ हजार ८५१ जना सङ्क्रमण मुक्त भएको चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा हालसम्म १४७ जनाको मृत्यु भएको छ ।

गुल्मीमा २४ घण्टामा ११ को मृत्यु

तम्घास : दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा गुल्मीका ११ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो ३ बजेदेखि आज दिउँसो ३ बजेसम्म तम्घास, पाल्पा, होम आइसोलेशन, स्याङ्जा, काठमाडाँै, चितवन, बुटबललगायत स्थानमा गरी नौ पुरुष र दुई महिलाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड–१९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।

गुल्मीमा दोस्रो चरणको कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ४९ पुगेको छ । जिल्लामा अहिलेसम्म कुल एक हजार १८६ जना सङ्क्रमित भएका छन् । जसमध्ये ९३४ सक्रिय छन् । सक्रिय सङ्क्रमितमध्ये ८८४ जना होम आइसोलेशनमा छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म जिल्लाका कूल २०६  सङ्क्रण मुक्त भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन कार्कीले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!