एक करोड लगानीमा माहुरीपालन

Posted on: 26 Jul, 2020

साउन ११, नारायणपुर। दाङमा माहुरी तथा माहुरीजन्य सामग्री खरिदमा रु एक करोड बढी लगानी भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना योजना कार्यान्वयन एकाइ कार्यालय मौरीजोन घोराही तथा कृषकले सामग्री खरिदमा उक्त रकम लगानी गरेका हुन् । 

माहुरी जोन र कृषकको गरी गत आर्थिक वर्षमा रु एक करोड पाँच लाख ४० हजार ६९७  लगानी भएको छ । जसमा माहुरी जोनबाट अनुदान रु ४२ लाख १३ हजार २६९ र कृषकको रु ६३ लाख २७ हजार ४२८ लगानी भएको मौरी जोन एकाइ कार्यालयका प्रमुख कला बुढाले बताउनुभयो । अनुदान तथा कृषकको लगानी थपिएसँगै माहुरी तथा माहुरीजन्य उत्पादन विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

माहुरी जोन एकाइ कार्यालयले सनराइज बि किपिङ सेन्टर र राइजिङ बि एपियरीलाई गाडी खरिद गर्नका लागि रु १०/१० लाख अनुदान दिएको छ भने कृषकले रु १३ लाख ३९ हजार लगानी गरेको बुढाले बताउनुभयो । यस कार्यले माहुरीचरण तथा मौरीजन्य सामग्री बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

मह सङ्कलन तथा प्रशोधन गरी महको मूल्य तथा गुणस्तर वृद्धि गर्ने उद्देश्यले विशाल मौरी फार्मलाई रु १७ लाख ६३ हजार २४१ अनुदान दिएको छ । गुणस्तरीय रानी उत्पादन गर्नका लागि तुलसीपुर उपमहानगरपालिका–७ मुनामदन बी कन्सर्नलाई रु दुई लाख ५० हजार अनुदान दिएको छ । जसमा कृषकले रु दुई लाख ६२ हजार ६०० स्व लगानी पनि गरेका छन् । गुणस्तरीय रानी उत्पादन गर्नका लागि घोराही उपमहानगरपालिका–४ मा बी एण्ड बी मौरी फार्मलाई रु दुई लाख ५० हजार अनुदान दिएको छ भने रु तीन लाख १० हजार १०० स्वलगानी गरिएको छ । मौरी आरक्षको निर्माण गरी प्रतिकूल मौसमबाट बचाइ गुणस्तरीय मह उत्पादन गर्न घोराही–१८ मा रहेको प्राकृतिक एपिकल्चर सेन्टरलाई रु दुई लाख अनुदान दिएको छ । जसमा कृषकले रु दुई लाख २४८ लगानी गरेको प्रमुख बुढाको भनाइ छ । 

कार्यालयले दाङ जिल्लामा चरन क्षेत्रको सिजन अफ भएका समयमा अन्य जिल्लामा माहुरी चरनमा जाँदा लाग्ने लागतमा समेत सहयोग गरेको छ । कार्यालयका अनुसार २९ जना कृषकले सहयोग पाएका छन् । यसका लागि रु पाँच लाख नौ हजार ७०० सहयोग गरेको उहाँको भनाइ छ । जिल्लाका घोराही, तुलसीपुर उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिकामा माहुरी जोन कार्यक्रम लागू भएको छ । यसले कृषकलाई माहुरीपालन गर्दा आइपर्ने समस्या समाधान तथा प्राविधिक सहयोग, सामग्रीमा अनुदान तथा अन्य सहयोगसमेत गर्दै आएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!