अमरगढीको मेयरमा उम्मेदवारी दिने संगीता भन्छिन्- महिलाले पनि नगर हाँक्न सक्छन्

Posted on: 26 Apr, 2022

वैशाख १३, डडेल्धुरा | प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे गृहजिल्ला डडेल्धुराको सदरमुकाम हो अमरगढी नगरपालिका। २०७४ को स्थानीय तह निर्वाचनमा अमरगढीमा नगर प्रमुख र उपप्रमुखमा एमाले विजयी भएका थियो।

उपप्रमुखमा विजयी भएकी संगीता भण्डारी एकाएक चर्चामा आइन्। उनी चर्चामा आउनुको कारण थियो, कांग्रेसको गढ मानिने अमरगढीमा आफूभन्दा दोब्बर उमेरकी कांग्रेस उम्मेदवारलाई पराजित गर्नु। उनीसँगै पराजित भएकी नेपाली कांग्रेसकी नेतृ पार्वती झुकाल यसपटक पनि कांग्रेसबाट अमरगढीको उपमेयरमा उम्मेदवारी दर्ता गराएकी छन्। 

एमालेबाट उपप्रमुखमा निर्वाचित भण्डारी यसपटक एकीकृत समाजवादीबाट अमरगढीको मेयरको दौडमा छिन्। भण्डारी डडेल्धुरामा एक्ली मेयरकी उम्मेदवार हुन्। भण्डारीसँगै नेपाली कांग्रेसका डिल्लीराज जोशी, नेपाली कांग्रेस (बिपी)का हरि भट्ट, माओवादी केन्द्रका लक्ष्मण सिंह, राष्ट्रिय जनमोर्चाका पवन बिष्ट र स्वतन्त्र उम्मेदवार ललित तमोलीले मनोनयन दर्ता गरेका छन्। 

को हुन् संगीता ?

मध्यम परिवारमा जन्मिएकी संगीता भण्डारीको जन्म अमरगढी नगरपालिका-२ डबरबाटा गाउँमा १८ पुस २०४९ मा भएको हो।मध्यम परिवारमा जन्मिएकी भण्डारीको बाल्यकाल सानैदेखि कष्टपूर्ण बित्यो। हात समातेर हिँड्ने उमेरमा उनले आमाको साथ पाउन सकिनन्।

२०५४ मा आमाको मृत्यु भएपछि परिवारको पहिलो सन्तान भएकाले पारिवारिक जिम्मेवारी उनै भण्डारीको काँधमा आयो। त्यसपछि सुरु भए, उनका दुःखका पहाड। कष्टकर बाल्यकाल बिताउन बाध्य भण्डारीले कहिले हाँस्न पाइनन्। विभिन्न अभावका बीचमा सामान्य तरिकाले उनको पालनपोषण भयो। साँझ–बिहान के खाने, के लगाउने भन्ने समस्यामा उनका दिनहरू बिते।

‘खाने-लाउने अभावसँगै जीवनमा धेरै कठिन परिस्थिति सामना गरेँ। विगतका कठिन दिनको सम्झना कति छन् कति’, भण्डारीले सुनाइन्, ‘सानै उमेरमा ठूलो जिम्मेवारी वहन गर्नुपर्दा बाल्यकाल दुःख र पीडा बिर्सिन सकिँदो रहेनछ।’

उनको बाल्यकाल डडेल्धुराको आलिताल गाउँपालिका-२ कनेडीमा बाजेबजैसँगै बिते। सानै उमेरमा आमा बितेपछि उनले ठूलीआमा र हजुरआमाको साथ, सहयोग पाइन्। घरायसी कामकाजसँगै प्राथमिक शिक्षा उत्तीर्ण गरी माध्यमिक विद्यालय गांखेतमा, निम्न माध्यमिक शिक्षा ६-७ उणीकोट र कक्षा ८ राष्ट्रिय माध्यमिक विद्यालय कञ्चनपुरबाट पास गरिन्।

उनले जस्तोसुकै हन्डर खाए पनि पढाइलाई निरन्तरता दिइन्। पढेर भविष्यमा एक दिन सुखमय जीवन बिताउने चाहना थियो तर, रकम थिएन। समाजले आमा नभएकी टुहुरी भनेर माया गरे पनि परिवारकै सदस्यबाट अपहेलित हुनुपरेको विगत भण्डारीले कोट्याइन। ‘अरू साथीहरूले राम्रो लाउँदा, राम्रो खाँदा म भने हेलाको पात्र बनेँ। अपहेलित हुँदा मनमा अनेक कुराहरू खेल्थे। कहिलेकाहीँ त सहन नसकेर एकान्तमा गएर रुन्थेँ,’ उनले भनिन्, ‘जन्म दिने आमा भएको भए सायद दुःख खेप्नुपर्ने थिएन कि भनेर सोच्थेँ।’

‘एकातिर घरायसी काम गर्नुपर्थ्याे भने अर्कोतिर घरबाट खेल्ने सामग्रीसमेत कसैले किनिदिएनन्,’ उनले भनिन्, ‘भविष्यमा ठूलो मान्छे बनेर अभावमुक्त जीवन जिउने चाहनाकै कारण पढाइलाई निरन्तरता दिएँ।’ विद्यालयमा राम्रो विद्यार्थीमध्ये अग्र भागमा भण्डारीको नाम आउँथ्यो। तर, घरमा उनी अपहेलित थिइन्। छात्रवृत्ति र विद्यालयका कार्यक्रममा उत्कृष्ट हुँदै पुरस्कार प्राप्त गरेर पढाइलाई निरन्तरता दिएको उनी बताउँछिन्। परिवारमा माया, स्नेह अभाव हुँदाहुँदै पनि माध्यमिक शिक्षा घटाल माध्यमिक विद्यालय नुवाकोट र उच्च मावि माउन्टेन मावि बागबजारबाट पूरा गरिन्।

पत्रकारिताले पुर्‍यायो राजनीतिमा 

लामो समयसम्म उनले जिल्लामा रहेका मिडिया हाउसमा काम गरिन्। प्रेस चौतारीमा रहेर विभिन्न पदमा काम गरेको अनुभव छ, भण्डारीसँग। दुईपटक केन्द्रीय सदस्यको उम्मेदवार भइन्। संघीयता आएपछि कुनै पद मिले उम्मेदवारी दिने मनसायले एमालेको भ्रातृ संगठनमा प्रवेश गरिन्। भ्रातृ संगठनमा हुँदा पार्टीबारे राम्ररी बुझ्ने अवसर मिलेको बताउँछिन्, भण्डारी। पछि राजनीतिमै हामफालिन्। भण्डारीका ठूलाेबुबा तत्कालीन एमालेमा आबद्ध थिए। ‘ठूलाेबुबाबाट प्रेरित भएर होला मैले एमाले रोजेँ। एमाले रोज्नुको कारण मेरो नितान्त व्यक्तिगत विचार थियो,’ उनले भनिन्।

भन्छिन् : महिलाहरू नगर हाक्न सक्छन्

एकीकृत समाजवादी पार्टी डडेल्धुराबाट अमरगढी नगर प्रमुखमा उम्मेदवारी दिएकी संगीता भण्डारीले महिलाहरू नगर हाँक्न सक्छन् भन्ने देखाउन अमरगढीको मेयरमा उम्मेदवारी दिएको बताउँछिन्।  मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्ने क्रममा साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले देशभरि नै महिलाहरूले नगर हाँक्न सक्छन् भन्ने शुभ सन्देश दिन उम्मेदवारी दिएको बताएकी हुन्। 

‘महिलाहरू पनि प्रमुख पदका दाबेदार हुन सक्छन्। महिलाहरू पनि नगर हाँक्न सक्छन्। र, महिलाहरू पनि नगरको विकास गर्न सक्छन्। भन्ने सन्देश दिन मेरो उम्मेदवारी हो,’ उनले भनिन्, ‘हामी महिलाहरू पनि सक्षम छौं। पुरुषसँगै हामी प्रतिस्पर्धा गरेर अगाडि जान सक्छौं।’ पुरुषहरू भन्दा महिला कमजोर छैनन् भनेर देखाउन पुरुषसँगै नगर प्रमुखमा उम्मेदवारी दिएको उनले बताइन्। उनले विगतमा उपमेयर हुँदै गर्दा भोगेका भोगाइ र सिकाइको आधारमा समृद्ध अमरगढी बनाउने उठोट रहेको बताइन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!