वयस्क भाले गैँडा मृत फेला

Posted on: 09 Mar, 2023

फागुन २५, चितवन | चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एउटा वयस्क भाले गैँडा मृत भेटिएको छ । निकुञ्जको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने अमलटारी क्षेत्र अन्तर्गत सेहरी पोष्ट नजिक २० वर्षीय भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।  

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले बुधबार बिहान गस्ती टोलीले निकुञ्जको मुख्य क्षेत्रमा मृत गैँडा फेला परेको जानकारी दिनुभयो । दुई गैँडा एकापसमा जुधेर मरेको हुनसक्ने अनुसन्धानबाट खुलेको तिवारीले उल्लेख गर्नुभयो । मृतक भाले गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीको भनाइ छ । 

चितवन राष्ट्रिय निकुञ्जमा बुधबार मरेको गैँडासँगै चालु आर्थिक वर्ष २०७९/८० मा १३ वटा गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुईवटा चोरीसिकारीका कारण मरेका निकुञ्जले जनाएको छ । गैँडा गणना २०७७ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!