खिचरा महोत्सव बिहीबारदेखि, गृहमन्त्री लामिछानेले उदघाटन गर्ने

Posted on: 11 Jan, 2023

पुस २७, काठमाडौँ | पूर्वी चितवनको खैरहनीमा बिहीबारदेखि खिचरा महोत्सव हुने भएको छ । महोत्सवको उदघाटन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गर्दैछन् । थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा आयोजना गर्दै आएको यो महोत्सवको आठौँ संस्करण हो ।  यही पुस २८ देखि माघ ४ गतेसम्म महोत्सव सञ्चालन हुने छ । महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीका अनुसार देशभरका थारू जातिको रहनसहन र वेशभूषाका साथै खानाका परिकारलाई प्राथमिकता दिइने छ । बसोबास रहेका २५ जिल्लाका थारूको खाना एकै ठाउँमा पस्किने प्रयास गरिएको उहाँले जानकारी दिनुभयो ।

महोत्सवका लागि प्रवेशद्वार, मञ्च तथा कक्ष निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको संयोजक चौधरीले जानकारी दिनुभयो । महोत्सवबाट यो जातिको वेशभूषासँगै पहिचान तथा संस्कृतिको जगेर्नामा ठूलो टेवा पुग्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार महोत्सव स्थलमा घोँगी र पोका (चिचर)को मूर्तिसमेत राखिनेछ । त्यसबाहेक ३० वटा होटलसहित एक सय ५० वटा व्यावसायिक कक्ष हुने उहाँले जानकारी दिनुभयो । महोत्सवमा कृषि प्रवद्र्धन परिसरसमेत रहनेछ । महोत्सवमा जिल्लास्तरीय भलिबल, खुला चित्रकला, विद्यालयस्तरीय नृत्य, गाउँखाने कथालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रमसमेत सञ्चालन हुनेछ । यसको सम्पूर्ण तयारी करिब पूरा भएको आयोजकको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!