चितवनमा १ लाख १६ हजार कुखुरामा बर्डफ्लु , कुखुरा नष्ट गर्न अझै केहि दिन लाग्ने

Posted on: 07 May, 2022

वैशाख २४, चितवन । पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको १ लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ ।

ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु देखिएको जिल्लाको यो पहिलो फार्म हो । खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको सो फार्ममा केही दिनअघि गरिएको द्रुत परीक्षणमा सङ्क्रमण देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौं पठाइएको थियो ।

परीक्षणमा बर्डफ्लु प्रमाणित भएपछि कुखुरा नष्ट गर्न थालिएको छ । फार्मका सञ्चालक सुमा अर्यालका अनुसार फुल अटोमेसन क्लोज हाउसमा पालिएका लेयर्स कुखुरामा सङ्क्रमण देखिएको हो । बर्डफ्लु देखिएसँगै कुखुरा, अण्डा, दाना, क्रेट, कार्टुनलगायतका सामग्री नष्ट गर्न थालिएको छ । अर्यालका अनुसार बर्डफ्लुका कारण प्रत्यक्ष, अप्रत्यक्षरूपमा २५ करोड रुपैयाँ हाराहारी नोक्सान हुने देखिएको छ ।     

जिल्लामा यसबाहेक ३१ ओटा पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ । माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै देखिएको हो । 

जिल्लामा यसबाहेक बर्डफ्लु देखिएका फार्ममा २ लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको कार्यालयले बताएको छ । केन्द्रका सूचना अधिकारी डा प्रभाश न्यौपानेका अनुसार ब्रोइलर ६४६, कडकनाथ ८९६, हाँस ३५ ओटा नष्ट गरिसकिएको छ ।

बर्डफ्लुका कारण जिल्लामा १ लाख ७८ हजार २२६ ओटा अण्डा, ६२ हजार ९२० किलो दाना, ५८ हजार २२० क्रेट, ६ हजार टर्की ब्रिडिङ अण्डा, प्यारेन्ट ब्रोइलर ३ हजार ४७६ ओटा, १ हजार ३८० ओटा गिरीराजको अण्डा, कार्टुन १ हजार ५००, डाला ६६० र तयारी मासु ४० किलो नष्ट गरिसकिएको न्यौपानेले जानकारी दिए। अन्नपूर्णको नष्ट गर्ने काम भइरहेको छ । सबै नष्ट गर्न केही दिन लाग्ने कार्यालयले बताएको छ ।     

 बर्डफ्लुले कुखुरा मर्न थालेपछि कतिपय कृषकले बजारमा विक्री गर्दा रोग तीव्र फैलिएको अनुमान रहेको छ । सरकारी तवरबाट दिइने राहतको प्रक्रियामा पर्खदाँ कुखुरा मरेर सकिने र केही बाँकी रहे तिनको राहतप्रति कृषक विश्वस्त हुन नसक्दा कतिपय कृषकले कुखुरा बेचेको पाइएको छ । अनुगमनमा कडाइ हुन नसकेका कारण रोग फैलिएको हो    

यस बिषयमा तपाइको प्रतिक्रिया...!