चितवनमा आजदेखि खोप अभियान शुरु

Posted on: 16 Jul, 2021

साउन १, चितवन (रासस)। जिल्लामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । जिल्लाका सबै पालिकामा यो अभियान सञ्चालन गरिएको हो ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५ वर्षमाथिका सबै नागरिकलाई आज र भोलि यो खोप दिइने छ । नागरिकता वा अन्य परिचय खुल्ने सरकारी कागजात लिएर आउनेलाई खोप लगाइने छ । यही साउन ३ गते सरकारी, निजी र सामुदायिक विद्यालय तथा क्याम्पसका प्राध्यापक, शिक्षकलाई खोप लगाइने छ । यसका लागि सम्बन्धित पालिकाको शिक्षा शाखाबाट प्रमाणित गरेको प्रतिलिपि र कार्ड अनिवार्य गरिएको कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीले बताउनुभयो ।

यसैगरी यसअघि नै तोकिएको तर खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, कर्मचारी, पत्रकार, बैंक कर्मचारी, सुरक्षाकर्मी, संंस्थान कर्मचारी, जनप्रतिनिधि सबैले यो खोप लगाउन पाउने छन् । परिचय र प्रमाण खुल्ने कागजात लिएर सम्बन्धित खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै खोप अनिवार्य गरेका देशमा जानुपर्ने व्यक्तिले पासपोर्टमा भिसा लागेको प्रमाणसहित आएमा उनीहरुलाई पनि यो खोप दिइने प्रमुख तिवारीले बताउनुभयो । सार्वजनिक सवारीका चालक र सहचालकलाई लाइसेन्स र सम्बन्धित निकायबाट प्रमाणसहित आएमा खोप लगाउने व्यवस्था गरिएको छ । तोकिएका समूहबाहेक अन्यलाई यो खोप दिन नमिल्ने बताउँदै उहाँले भन्नुभयो, “तोकिएका समूहबाहेक अरुलाई खोप दिन मिल्दैन । यसअघि कोभिशिल्ड पहिलो डोज लगाएकालाई पनि यो खोप लगाउन मिल्दैन ।” खोपसम्बन्धी केही समस्या भएमा सम्बन्धित वार्डको स्वास्थ्य संस्थाबाट जानकारी लिन सकिने कार्यालयले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!