गठबन्धनलाई पराजित गर्दै इच्छाकामनाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

Posted on: 18 May, 2022

जेठ ४, चितवन | चितवनको सात पालिकामध्ये अहिलेसम्म तीन पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । तीनवटै पालिकाको मेयर/अध्यक्षमा एमाले विजयी भएको छ । माडी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको हो ।

जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले) विजयी भएको छ । अघिल्लो पटक गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेस एक्लैले जितेको थियो । अहिले गठबन्धन बन्दा पनि एमाले एक्लैले जित हात पारेको हो ।

गाउँपालिकाको अध्यक्षमा एमालेका दानबहादुर गुरुङ एक हजार ५०२ मत अन्तरले निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित गुरुङले छ हजार ११० मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेपाली (कांग्रेस)की गीताकुमारी गुरुङले चार हजार ६०८ मत प्राप्त गरिन् ।

गाउँपालिकाकी निवर्तमान अध्यक्ष गीताकुमारी गुरुङ पुनः अध्यक्षका लागि लडेकी थिइन् । तर, उनी सफल हुन सकिनन् । उपाध्यक्षमा पनि एमालेकै माया सिलवाल पाँच हजार ३४४ मत ल्याएर निर्वाचित भइन् ।

सिलवालले निकटतम प्रतिस्पर्धी नेकपा (मोआवादी केन्द्र)का प्रताप गुरुङलाई ३०० मत अन्तरले पराजित गरिन् । गुरुङले पाँच हजार ४४ मत प्राप्त गरेका हुन् ।

इच्छाकामनाका सात वडामध्ये एमालेले एक्लै पाँच वडा जित्यो भने माओवादी केन्द्र र कांग्रेसले एक/एक वडा जिते । इच्छाकामनामा १२ हजार ४ मत खसेको थियो ।

वडाहरुको नतिजा यस्तो छ

इच्छाकामना गाउँपालिका-१ को अध्यक्षमा पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका सन्तबहादुर राना मगर (६३९) निर्वाचित भए । एमालेका नन्दलाल गिरीले ६२९ मत ल्याए पनि निर्वाचित हुनका लागि पर्याप्त भएन । गिरी १० मतान्तरले पराजित भए । उनी निवर्तमान वडाध्यक्ष हुन् । वडा सदस्यहरूमा सबै एमालेका उम्मेदवार निर्वाचित भए । 

इच्छाकामना–२ मा एमालेको प्यानल नै विजयी भयो । अध्यक्षमा एमालेका पन्च बहादुर चेपाङ ६८३ मत ल्याएर पुनः निर्वाचित भए । निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका प्रकाश बुढाथोकीले ५१४ ले मत प्राप्त गरे । 

इच्छाकामना–३ को अध्यक्षमा एमालेका नरबहादुर नेपाल निर्वाचित भए । नेपालले ८६० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादीका शरद पोखरेलले ८४९ मत प्राप्त गरेका थिए । 

इच्छाकामना–४ मा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा रुद्रप्रसाद उप्रेती ८५८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका होमबहादुर सिलवालले ६९८ मत प्राप्त गरे । उप्रेतीले सिलवाललाई १६० मतान्तरले पराजित गरेका हुन् ।

इच्छाकामना–५ मा पनि एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा तेजबहादुर शेरचन ७५२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार जितबहादुर थापा मगरले ३८४ र कांग्रेसका मोदराज सिलवालले २१३ मत मात्रै प्राप्त गरे ।

इच्छाकामना–६ मा पनि एमालेको प्यानल नै विजयी भयो । वडा अध्यक्षमा एमालेका लक्ष्मण प्रजा ७९७ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका विराज गुरुङले ५७६ मत मात्र प्राप्त गरे ।

इच्छाकामना–७ को अध्यक्षमा गठबन्धनबाट कांग्रेसका बमबहादुर थापा मगर १२ सय ६ मत ल्याएर निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी एमालेका बोधबहादुर गोलेले एक हजार ९६ मत ल्याए ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!