चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ?

Posted on: 16 Mar, 2023

चैत २, चितवन | नागरिकतासम्बन्धी मुद्दामा रवि लामिछाने पदमुक्त भएपछि रिक्त चितवन २ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिँदै जाँदा आकांक्षीहरुले टिकटको लागि पार्टीभित्र लविङ थालेका छन् । उपनिर्वाचनको उम्मेदवारी दर्ता चैत २० गते हुँदैछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मंसिर ४ मा यही क्षेत्रबाट निर्वाचित रवि लामिछाने चुनावको तयारीमा लागिसकेका छन् । उनी रास्वपाबाट निर्विकल्प उम्मेदवार हुन् । उनैको क्रेजको कारणले गठन गरेको रास्वपा पाँच महिनाभित्र प्रतिनिधिसभाको चौथो दल बनेको छ । सर्वोच्च अदालतको फैसलापछि पदमुक्त लामिछाने फेरि संसद प्रवेशका लागि चितवनमा चुनावी अभियान छन् । उनी पछिल्लो समय पार्टीका नेताहरुलाई साथ लिएर चितवनमै सक्रिय छन् ।


लामिछानेले चुनावको तयारी थालिसकेको पार्टी उपसभापति डोलप्रसाद (डीपी) अर्यालले बताए । उनले भने, ‘हामीले आन्तरिक तयारी गरिरहेका छौं । उपराष्ट्रपतिको निर्वाचन सकिएपछि हामी चितवनमा जान्छौं । अहिले जिल्ला तहमा नेताहरुले काम गरिराख्नुभएको छ । त्यसमा केही आवश्यक छलफल गर्न हामी गएका हौं ।’ अर्यालले उपराष्ट्रपतिको निर्वाचन सकिएपछि आफूहरु पूर्ण रुपमा निर्वाचनमै केन्द्रित हुने बताए ।

मंसिर ४ को निर्वाचनमा लामिछानेसँग पराजित कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेलले चुनाव नलड्ने पार्टी नेतृत्वलाई जानकारी गराइसकेका छन् । लामिछानेले ४९ हजार २६४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्रेष्ठले १४ हजार ९८३ मतमात्रै ल्याएका थिए । एमालेका पोखरेलले १४ हजार ६६७ मत पाए ।

लामिछानेले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्रेष्ठको भन्दा ३४ हजार २८१ बढी मत पाए । चितवन २ लाई एमालेको प्रभाव क्षेत्र मानिन्छ । तर, रास्वपा सभापति लामिछानेको प्रवेशले यसअघि दुवैपटक जितेका एमालेका पोखरेल हार व्यहोर्न बाध्य भएका थिए ।

हाल यस क्षेत्रमा कांग्रेसबाट चितवन सभापति राजेश्वर खनाल र पूर्वसभापति जीतनारायण श्रेष्ठ मुख्य दावेदार छन् । कांग्रेसबाट अर्थशास्त्री स्वर्णिम वाग्लेको चर्चा भए पनि उनको सम्भावना कम छ । उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न पार्टी कमिटीलाई निर्देशन गरिसकेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए । उनले भने, ‘हामीले पार्टी विधानअनुसार प्रक्रिया पुर्‍याएर उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न भनेका छौं । उहाँहरुले पठाएको नाममा पार्टीभित्र छलफल गरेर निर्णय लिन्छौं ।’ कांग्रेसको उम्मेदवारले सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलको पनि साथ पाउने पक्का छ ।

त्यसो त सात दलीय गठबन्धन भत्किनुअघि एमालेका नेताहरुले रास्वपा सभापति लामिछानेलाई सघाउने संकेत गरेका थिए । तर, अहिले राजनीतिक समीकरण फेरिएपछि एमालेले आफ्नै उम्मेदवार उठाउने तयारी गरेको छ ।

एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, प्रदेश कमिटी सदस्य तिलचन्द्र भट्टराई, कालिका नगरपालिकाका निवर्तमान मेयर गोपी श्रेष्ठको नाम चर्चामा छ । प्रदेश कमिटी सदस्य भट्टराई पोल्ट्री व्यवसायी पनि हुन् ।

यस्तै राष्ट्रिय जनमोर्चाले भने पार्टी उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेको छ । अन्य दलले यहाँ उम्मेदवारको घोषणा गरेका छैनन् ।

चितवन २ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडा पर्छन् । यो क्षेत्रमा २०७० र २०७४ सालको निर्वाचनमा एमालेका पोखरेल निर्वाचित भएका थिए ।

लामिछानेको लोकप्रियताकै कारण २०७९ को निर्वाचनको प्रत्यक्षतर्फ मात्रै होइन समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बनेको थियो । समानुपातिकमा रास्वपाले ३५ हजार ९४५ मत ल्याएको थियो ।

एमालेले १६ हजार ७८४, कांग्रेसले ११ हजार ९१४, माओवादी केन्द्रले ८ हजार ४०७, राप्रपाले ३ हजार २१८ र नेकपा एकीकृत समाजवादीले ६१६ मत प्राप्त ल्याएका थिए । समानुपातिक मत हेर्दा पनि गठबन्धन दलभन्दा रास्वपा एक्लै धेरै अगाडि देखिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!