गिजुभाइ कक्षाकोठामा

Posted on: 27 Aug, 2017

-राजु विक

आफु शिक्षक हुनुका नाताले दुइचार जना विद्यार्थीहरु, अभिभावक र साथीहरु भेटिएको ठाउँमा शिक्षण सिकाइका कुरा गर्नु अति सान्दर्भिक राख्छु कि इच्छा वा रहर राख्छु आफैलाई थाहा छैन । कहिलेकाही बालबालिका सम्बन्धी सिर्जना पनि गरिहाल्ने बानीले केही झुकाव बढाएको हो कि थाहा छैन ।

आफुले लेखेका सिर्जना केही साथीहरुलाई पश्किदा निक्खरता आउनका लागि गिजुभाइका पुस्तकहरु पढ्ने सुझाव पाएँ । यो सुझाव मेरा लागि गुरु मन्त्र बन्यो । गिजुभाइलाई नचिन्ने शिक्षक, बालबालिका, अभिभावक र शिक्षाप्रेमी कमै हुँदारहेछन् । बजारमा निक्लिएका उनका हरेक पुस्तकहरु नुनचिनी, चामल, दाल र तेल झैँ आधारभूत उपभोग्य वस्तु जस्तै बिक्दो रहेछ । बल्लतल्ल एउटा पुस्तक भेटेँ हामी आमाबाबु । पुस्तक लेखनको शैली निकै सरल, व्यावहारिक, जीवनोपयोगी, बाल र अभिभावक मनोविज्ञानमा केन्द्रित भएको पाएँ । साहित्यका सबै विधा र शैली यो पाठ्यपुस्तकमा प्रयोग भएको  पाएँ । यो पाठ्यपुस्तकमा सबैभन्दा ठुलो कुरा त मानवीय मनोलोकको विभिन्न परिवेशको चित्रण र प्रयोग रहेछ । पुस्तकका कतिपय शीर्षक र घटनाले हामी पाकाहरुको मनमस्तिष्कलाई सजिलै नछुने रहेछ । यी कुराले बालबालिकाको मनलाई कत्तिको छुने रहेछ भन्ने कुरा परीक्षण गर्न मन लाग्यो र शिशु कक्षातर्फ लागेँ ।

शिशु कक्षाका बालबालिकालाई सि आकारमा राखेर त्यहाँका घटनाहरु हाउभाउका साथ वाचन गर्न थालेँ । सबै बालबालिकाहरुले खुब मन पराए । सबै बालबालिकाहरु खुब पेट मिचीमची हाँसे । यो घटनाले मलाई झनै उत्साही  बनायो । म झनै कस्सिएर अन्य पाठ र घटनाहरु वाचन गर्न थालेँ । कक्षा शिक्षकले मेरो ध्यान भङ्ग गर्दै भन्नुभयो – “राजु सर शयमा एक अपवाद निक्लियो । गिजुभाइले अरु सबै जनालाई खुसी बनायो तर यी नानीलाई छुदै  छोएन । यिनी न हाँस्न सकिन न रुन । यिनी किन प्रतिक्रिया शून्य बनिन होला । यिनलाई हसाउने अन्य कुनै उपाय छ भने निकाल्नुहोस् ।”

उहाँको कुराले मेरो अनुहार अमिलो बनायो ।  मैले आफुले जाने र सके जति उपायहरु निकाल्ने प्रयास गरेँ तर प्रतिक्रियामा पाएँ, ती बालिका बाहिर निक्लिन । म झनै आश्चर्यचकित बनेँ । केही बेरपछि उनले दुबै हातभरि ससाना ढुङ्गा लिएर आइन र मलाई हान्न थालिन । कक्षा भाँडियो । कक्षा शिक्षको अगाडि मेरो बालकेन्द्रित र प्रभावकारी शिक्षण फेल खायो । कक्षा शिक्षकलाई उहाँको कक्षा हस्तान्तरण गर्दै म कक्षा बाहिर निक्लिएँ । ती बालिका ढुङ्गाले हान्दैहान्दै मेरो पछिपछि आउँदै थिइन । केही बेरमा कक्षा शिक्षक आएर उनलाई कक्षा कोठामा लैजानुभयो । उनले कक्षाभित्र गएर आफ्ना साथीहरुमाथि पनि मैमाथिको व्यवहार गर्न थालिन । कक्षा झनै भाँडियो । यो घटनाले मलाई चिन्तित तुल्यायो ।

मैले मनमनै भनेँ – “कक्षाकोठामा तिमीले फेल खायौ गिजुभाइ !”

यी बालिका किन यस्ती बनी होलिन ? मैले धेरै सोँचविचार गरेँ । धेरै साथी अभिभावकहरुसँग छलफल पनि गरेँ । यही हो भन्ने निष्कर्ष निकाल्न सकिन । तैपनि म निम्न प्रश्नमा घोत्लिन बाध्य भएँ ः

बालबालिका किन आक्रमक बन्छन् होला ?

उत्तर यस्तो पनि हुन सक्छ ः

्य उनीहरुको इच्छाप्रति कुनै ख्याल गरिदैन,

्य  कुनै काम गर्न बढी दबाब दिइन्छ,

्य  उनीहरु यस्ता समस्याबाट ग्रसित भएका पनि हुन सक्छन् ः भोक, तिर्खा, निद्रा, बिरामीपना, प्रियजनसँगको बिछोड, प्रतिकूल वातावरण आदि आदि,

्य उनीहरु त्यस्तै पारिवारिक वातावरण र सिकाइबाट आएका हुन पनि सक्छन्,

उनीहरुको इच्छाप्रति कुनै ख्याल गरिदैन,

कुनै काम गर्न बढी दबाब दिइन्छ,

उनीहरु यस्ता समस्याबाट ग्रसित भएका पनि हुन सक्छन् ः भोक, तिर्खा, निद्रा, बिरामीपना, प्रियजनसँगको बिछोड, प्रतिकूल वातावरण आदि आदि,

उनीहरु त्यस्तै पारिवारिक वातावरण र सिकाइबाट आएका हुन पनि सक्छन्,

हाम्रो अति माया र अवसरले उनीहरुमा पेलाहा चरित्रको विकास पनि भएको हुन सक्छ,

मानौँ उनीहरुमा सामाजिक विकास हुन बाँकी छ,

उनीहरुलाई कक्षाकोठाको वातावरण कत्ति पनि मन पर्दैन,

उनीहरु  आफ्ना साथीसमूहप्रति अति असन्तुष्ट छन्,

मानौँ उनीहरुको धेरै रिसाउने बानी छ,

उनीहरुलाई पढ्न लेख्न मन पर्दैन,

उनीहरुलाई आफ्नो शिक्षकका गतिविधि मन पर्दैनन्,

उनीहरु आफ्नो स्कुलका कार्यक्रम र अन्य क्रियाकलापमा समायोजन हुन सकेका छैनन्,

बालमैत्री विद्यालय र शिक्षण हुन सकेको छैन,

मानौँ, शिक्षकमा कार्यदक्षताको कमी छ,

माना,ैँ शिक्षक आधुनिक प्रविधिको पहुँचबाट टाढा छन्,

मानौँ, शिक्षक बालबालिकाको माग अनुसार रुपान्तरण हुन सकिरहेका छैनन् ।

यस्ता धेरै कारणहरु हामीसँग हुन सक्छन् । यिनको बारेमा हामीले कत्तिको सोँचविचार गरेका छौँ ? हाम्रा बालबालिकाले कहिलेकाही धेरै नै अटेरी पना देखाउने गर्छन् । कारण र निवारण खोज्नुको बदला हामीहरुले उनीहरुलाई रिस, डर, धम्की र दण्ड पस्किने गर्छौँ । के यो नै समस्या समाधानको अन्तिम विकल्प हो त ?  

म शिक्षक हुँ । केही वर्ष अगाडि शिक्षक हुँ भन्न गर्व लाग्थ्यो तर आजभोलि भने शिक्षक हुँ भन्न पनि डर लाग्न थालेको छ । तैपनि कतिपय नयाँ ठाउँमा नयाँ मानिसहरुले एकै नजरमा “तपाईँ शिक्षक    हो ?” भन्ने प्रश्न गर्छन् । कुनैले अड्कल काट्छन् त कुनैले तोकेरै भन्छन् । मसँग शिक्षकको कुन खालको गन्ध रहेछ । यसरी लुक्न र लुकाउन नसकेकोमा आफैलाई आश्चार्य पनि लाग्छ । कतिपय अवस्थामा रिस पनि उठ्छ ।

यसो पनि किन हुन नसक्ने ?

अहिलेको बालबालिका एक्काइसौँ शताब्दीको बालबालिका हो । उसले गर्भावस्थाबाटै एक्काइसौँ शताब्दीको ज्ञान, सिप र बानी लिएर आएको छ । हामी एक्काइसौँ शताब्दीका मागमा ढालिन चाहदैनौँ । हामी आफुलाई कत्ति पनि परिवर्तन गर्न चाहदैनौँ । तसर्थ हामी र हाम्रा बालबालिका बिचमा धेरै नै ठूलो खाडल छ । युगको खाडल । मागको खाडल । रुपान्तरणको खाडल । जो हामीले पुर्ने चेष्टा गरिरहेका छैनौँ । जसको बारेमा सोच्ने र काम गर्ने फुर्सद हामीसँग छैन ।

कतै हाम्रा इच्छा र सोँच गलत त छैनन् ? कतै हाम्रा मागका सिकार हाम्रा बालबालिका त बन्नु परेको छैन ?

हामी चाहन्छौँ । हाम्रा बालबालिका ज्ञानी होऊन् । आज्ञाकारी होऊन् । पढ्ने लेख्न काम मात्रै गरुन् । उनीहरुको ध्यान पढाइमा बाहेक अन्यत्र नजाओस् । घरबाट निक्लदै ननिक्लून । साथीहरुसँग भेटै नहोऊन् । खेल्दै नखेलून । हामीभन्दा पनि धेरै सज्जन होऊन् । कुनै माग नगरुन् ।

अवश्य पनि हामीसँग यस्ता सोँच छन् । यसो हो भने त हाम्रा बालबालिका यन्त्र नै भएनन् र ? के हामीले उनीहरुलाई चेतना, भाव र संवेदनाशून्य बनाउन खोजेनौँ र ?

हाम्रा बालबालिका चेतना शून्य कदापि हुन सक्दैनन् । उनीहरु मानव जातिका जल्दाबल्दा सन्तती हुन् । उनीहरुमा मानवीय विशेषता छ । उनीहरुमा सुख दुःख अनुभव गर्ने मन छ । उनीहरु पनि राम्रो नराम्रो छुट्याउन सक्छन् । बालक हुँदैमा उनीहरु चेतना, भाव र संवेदनाशून्य भने छैनन् । भलै उनीहरुमा कार्य र परिणामको अनुभव थोरै हुन सक्छ ।  त्यसैले उनीहरुलाई नपढाऊँ, पढौँ । उनीहरुलाई नसिकाऊँ, उनीहरुसँग सिकौँ । उनीहरुसँग हामीहरुले सिकिदिँदा पनि धेरै कुराहरुमा उनीहरुलाई फाइदा पुगिरहेको हुन्छ ।

हामी हाम्रा बालबालिका कस्ता होऊन भन्ने चाहन्छौँ ?

पढाइमा सधैँ प्रथम ।

खेलमा सधैँ प्रथम ।

चित्रकला, नृत्य, गायन लगायतका सिर्जनामा सधैँ प्रथम ।

यस्ता धेरै चाहना हामीसँग हुनसक्छन् ।

हामीले यसो भन्ने त गर्दैनौँ ?

हाम्रा बालबालिका अब्बल खेत जस्तै होऊन् । यस्तो अब्बल खेत जहाँ जे फसल लगायो त्यसैको उत्पादन अतित्युत्तम होस् ।

के यस्तो पनि सम्भव छ र ?

यसो भन्नुको अर्थ एकै जातको बोटमा संसारभरिका फसल लागून भनेको होइन र ?

अर्थात एउटै रुखमा आँप, केरा, नास्पाती, भोगटे, स्याउ, अनार, कागती ....... फलून भनेको होइन र ?

यो कुनै युगमा पनि कुनै लोकमा पनि सम्भव हुने कार्य हो र ?

जड होस् या सजीव । जसरी प्रकृतिका हरेक वस्तुको एउटै धर्म र विशेषता हुन्छ त्यस्तै विशेषता र क्षमता हाम्रा बालबालिकाहरुमा पनि हुन्छ । त्यसको पहिचान गरेर त्यसैको जगेर्नामा हामी लाग्नु युक्तिसङ्गत हुन्छ ।

हामीलाई थाहा नै छ कि हिमालमा आँप र तराईमा स्याउ फलाउन कदापि सकिदैन ।

कतै हामीले राम्रो बनाउने वहानामा यस्तै असम्भव र विपरीत कार्य त गरिरहेका छैनौँ ?

हामीले यसो किन भन्दैनौँ ?

बिगार्छन् । बालबालिकाले नबिगारे कसले बिगार्छन् त ? गल्ती गर्छन् । बालबालिकाले गल्ती नगरे कसले गर्छन् त ? रुन्छन्, कराउँछन्, जिद्दी गर्छन् । बालबालिकाले यसो नगरे कसले गर्छन् त ? सिक्दैनन् । त्यही भएर त बालबालिकालाई सिकाउनु परेको छ नि ।

बालबालिकाले बिगार्ने, गल्ती गर्ने, रुने, कराउने, जिद्दी गर्ने गरेरै त सिक्ने हुन नि । सिक्नैका लागि त यी सबै कुरा हुने हुन नि । सिकी सकेपछि त यस्ता घटना दोहोरिनका लागि त अभिनय नै गर्नु पर्ने हुँदैन र ?

हामीले एउटा कुरा बिर्सियौँ कि ?

कुनै समय हामी पनि बालक नै थियौँ । हामीले पनि यसै गथ्र्यौ । हामी त यिनीहरु भन्दा पनि खराब  थियौँ । हामीहरुसँग भन्दा यिनीहरुसँग यिनी कुराहरु धेरै राम्रा छन् । यिनी कुराहरु त हामीहरुले हाम्रै बालबालिकाहरुसँगै सिकेका थियौँ नि ।

हामीलाई यस्तो किन लाग्दैन ?  

कक्षाकोठा र शिक्षण सिकाइ क्रियाकलाप रेडिमेड खाना होइनन् । जसलाई जतिबेला आवश्यक प¥यो त्यतिबेलै निकाल्यो, खोल्यो, कपाकप खायो । भुँडी भ¥यो । डका¥यो । बस्यो । 

यो त बालबालिकाको इच्छा र आवश्यकता अनुसारको परिकार बनाउने एउटा कला हो । त्यसैले बालबालिकालाई हेरौँ । उनीहरुको इच्छा, क्षमता र आवश्यकता अनुसार सिकौँ । सिकाऊँ । किनकि विषयवस्तु त केवल साधन मात्र न हो । साध्य त बालबालिका नै हुन् नि ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!