नगरकोटका होटल पुनःनिर्माण हुदै

Posted on: 04 Aug, 2016

साउन २०, नगरकोट । भूकम्पमा भत्केका तथा क्षति पुगेका नगरकोटका होटलको पुनःनिर्माण धमाधम भइरहेको छ । 

गतवर्षको भूकम्पले नगरकोटका दर्जनभन्दा बढी होटल माटोमा मिलेका थिए । त्यस्तै दुई दर्जनभन्दा बढी होटलमा क्षति पुगेको थियो । भूकम्पमा पूर्णरुपमा क्षति भएको ग्रिन भ्याली, भ्यू प्वाइन्ट, स्पेस माउन्टेन, स्नोम्यान, हिमालयन भिल्लाको पुनःनिर्माण तीव्र गतिमा भइरहेको छ । 

नगरकोट नाल्दुम पर्यटन विकास समितिका पूर्वअध्यक्ष रामशङ्कर ध्वजूले भूकम्पमा क्षति पुगेका सम्पूर्ण होटलको पुनःनिर्माण तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो । उहाँले ती होटलहरु आगामी सेप्टेम्बरभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित पुनःनिर्माण भइरहेको बताउनुभयो । 

उहाँका अनुसार भूकम्पले सामान्य क्षति पुगेका होटल मर्मतसम्भारपछि यसअघि नै सञ्चालनमा आइसकेका छन् । सामान्य क्षति पुगेका होटल सेरेन, ग्रिनल्यान्ड, ग्यालेक्सी, इलिफेन्ट हेड, शेर्पा कटेज, मधुवन, भँगेरी दरबार, नाल्दुम भिलेज रिसोर्ट, फार्म हाउस सञ्चालन आइसकेको उहाँले बताउनुभयो । 

भूकम्पले क्षति पु¥याएको नगरकोटकै सबैभन्दा ठूलो होटल क्लब हिमालयन पनि मर्मतपछि सञ्चालनमा आइसकेको छ । त्यस्तै होटल चौतारी, फोर्ड, रोज भिल्ला, होटल निभा निभा, सन राइज, होटल बेसो पनि सञ्चालनमा आइसकेका छन् । 

नगरकोटमा करिब चार दर्जन होटल रहेका छन् । जसमध्ये भूकम्पमा एक दर्जनमात्रै होटल बचेका थिए । नगरकोटका धेरैजसो होटल सञ्चालनमा आएपछि अहिले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल पनि बढेको छ । 

नगरकोटमा अहिले बाह्यभन्दा आन्तरिक पर्यटकको आगमन बढेको होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछाने बताउनुहुन्छ । 

पछिल्लो समय काठमाडौँ उपत्यकामा गर्मी बढेकाले काठमाडौँ खाल्डोको गर्मी छल्न त्यहाँका बासिन्दा शुक्रबार र शनिबार नगरकोट आउने गरेका छन् । 

“यहाँका होटलमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकको चाप थेगिनसक्नु हुन्छ” – सञ्चालक लामिछानेले भन्नुभयो । 

शुक्रबार दिउँसो नगरकोट पुग्ने आन्तरिक पर्यटक शनिबार पूरै दिन घुमफिर गर्छन् । नगरकोट सूर्योदय र सूर्यास्तका लागि प्रख्यात छ । नगरकोटस्थित टावरबाट मौसम सफा भएका बेला हिमशृङ्खलासँगै काठमाडौँ उपत्यका, साँखु, मेलम्ची, पाँचखाल, बनेपालगायतको दृश्यावलोकन गर्न सकिन्छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!