भक्तपुरमा कांग्रेस र एमालेले टुंग्याए उम्मेदवारी

Posted on: 25 Apr, 2022

वैशाख १२, भक्तपुर | नेपाली कांग्रेस र नेकपा एमालेले भक्तपुरका चार नगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवारको टुंग्याएका छन् । 

कांग्रेसले भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल, चाँगुनारायणमा जीवन खत्री र भक्तपुर नगरपालिकामा राम कासुलालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसैगरी कांग्रेसले चाँगुनारायण नगरपालिकाको उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । तीन नगरपालिका भक्तपुर, मध्यपुर थिमी र सूर्यविनायक गठबन्धन दलका अरु पार्टीको भागमा परेकोले उसले त्यहाँं उम्मेदर उठाएन ।

भक्तपुरका चार नगरपालिकामध्ये मध्यपुर थिमीको उपप्रमुख नेकपा माओवादी केन्द्रलाई र नेकपा एकीकृत समाजवादीलाई भक्तपुर र सूर्यविनायक नगरपालिकाको उपप्रमुख दिने गठबन्धन दलबीच सहमति भएको थियो ।

यता, एमालेले मध्यपुर थिमीमा मदनसुन्दर श्रेष्ठलाई प्रमुख र उत्तरा नेपाललाई उपप्रमुख दिने टुंगाएको छ । सूर्यविनायकमा वासुदेव थापा प्रमुख र सरिता भट्टराई उपप्रमुख, भक्तपुरमा रवीन्द्र लाछिमस्यु प्रमुख र रञ्जना खर्बुजा उपप्रमुख र चाँगुनारायणमा बीना बाँस्तोला प्रमुख र रमेश बुढाथोकी उपप्रमुख उठाउने टुंगो लगाएको हो ।

मदनसुन्दर मध्यपुर थिमीका विजयी प्रमुख हुन् भने वासुदेव सूर्यविनायक नगरपालिकाका विजयी प्रमुख हुन् । बीना चाँंगुनारायण नगरपालिकाका विजयी उपप्रमुख हुन् । उनीहरु सबैले निर्वाचनका लागि राजीनामा दिइसकेका छन् । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!