राष्ट्रिय प्रत्यारोपण केन्द्र झौखेलमा बनाउने सम्झौता

Posted on: 04 Jun, 2021

जेठ २१, भक्तपुर (रासस)। सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेलमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण गरी स्थानान्तरण गर्ने भएको छ । नेपाल र भारतबाट आउने बिरामीको चाप बढ्दा भवन अभाव भएपछि मन्त्रिपरिषद्ले झौखेलमा अस्पतालको भवन निर्माण गर्ने निर्णय गरेसँगै कहाँ बन्ला भन्ने अन्योल हटेको छ । 

सरकारले साविक झौखेल गाविसको वडा नम्बर ३ को ६ रोपनी १ आना २ पैसा, सोही ठाउँको २५ रोपनी ५ आना २ पैसा गरी करिब ३२ रोपनी क्षेत्रफलको सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने कार्यनीति बमोजिम ३० वर्षको लागि भाडामा दिने निर्णय गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । 

मन्त्रिपरिषदको निर्णयसँगै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको भूमि व्यवस्थापन तथा अभिलेख विभागले यही जेठ १७ गते भूमिसुधार तथा मालपोत कार्यालयलाई मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि पत्र पठाएपछि जिल्ला मालपोत कार्यालय भक्तपुुरले २०७८ जेठ १८ गतेदेखि २१०८ जेठ १७ गतेसम्म जग्गा लिजमा दिने सम्झौता गरेको छ । 

चाँगुनारायणकै दुवाकोटमा वीर अस्पतालसमेत निर्माण गर्न लामै पहलपछि सरकारले आगामी तीनवर्ष भित्र अस्पतालको सबै भवन निर्माण गरेर पूर्ण रुपमा सञ्चालनमा ल्याउने गरी बजेटसमेत विनियोजन गरेको छ ।

२०७५ साउन २१ गते चाँगुनारायणकै वडा नं. ७ बागेश्वरीको ७० रोपनी जग्गा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई दिने नगरपालिकासहित सरोकारवाला निकायले सहमति गर्दै सरकारलाई पत्राचार गरेको थियो । तर अस्पताल प्रशासनले उक्त जग्गा अस्पतालका लागि टाढा भएको, पायक नपरेको र अन्त जग्गा नपाए मात्रै विकल्पको रुपमा राख्ने भन्दै चाँसो नदिएपछि अन्यत्र जग्गा खोजी भएको थियो । 

एमाले नेता महेश बस्नेतले उक्त अस्पतालको भवन निर्माणकाबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएपछि उपयुक्त ठाउँको छनोट गर्ने क्रममा विवादरहित झौखेलका लागि सहमति गरिएको बताउनुभयो । “अस्पतालले नै वागीश्वरी टाढा हुन्छ, पायक पर्दैन, काँही नपाए मात्रै हेरौला भन्दै अन्त जग्गा खोजेपछि झौखेल र सूर्यविनायक नगरपालिका–५ कटुञ्जेको करिब ३१ रोपनी जग्गामा उक्त अस्पताल सार्ने गरी प्रक्रिया अगाडि बढाएका थियौँ”, नेता बस्नेतले भन्नुभयो, “ यो अस्पताललाई भक्तपुरबाट बाहिरी जिल्लामा लैजाने चलखेल भएपछि अन्ततः झौखेलमा सार्न हामी सहमत भयौँ ।” 

सरकारले नेपालकै केन्द्रीय अस्पतालको रुपमा मानव अङ्ग प्रत्यारोपण केन्द्रको स्थापना गर्दै भक्तपुरको दूधपाटीस्थित भक्तपुर अस्पतालका लागि निर्माण गरेको नयाँ भवनमा सुरुमा मिर्गौलाको बहिरङ्ग, अन्तरङ्ग, डायलोसिस र प्रत्यारोपण सेवा दिएको यो अस्पतालले हाल कलेजो प्रत्यारोपणदेखि अन्य शल्यक्रियासमेत गर्दै आएको छ । भारतदेखिका बिरामी आउने भएपछि शय्या अभाव र सेवा विस्तारमा ठाउँ अभावले सोही भवनमा तला थप्ने, खाली ठाउँमा अस्थायी संरचना बनाउँदै सेवा दिदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!