किशोरी बलात्कारको आरोप लागेपछि फरार वडा अध्यक्षले गरे प्रहरीमा आत्मसमर्पण

Posted on: 02 Jan, 2023

पुस १८, बारा | किशोरीलाई जर्बजस्ती करणी गरेको आरोप लागेपछि फरार रहेका बाराको निजगढ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजु भनिने राजन श्रेष्ठले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

आइतबार बेलुका उनी स्वयं प्रहरी सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक संजीव ओलीले जानकारी दिए ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिई वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनीविरुद्ध १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

किशोरीका अभिभावकले २५ असोजमा इलाका प्रहरी कार्यलय निजगढमा उनीविरुद्ध किटानी जाहेरी दिएका थिए । दशैंको टीकाको दिन १९ असोजमा वडा अध्यक्ष राजुले किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । गम्भीर प्रकृतिको फौजदारी अभियोगमा मुद्दा परेलगत्तै उनी फरार भएका थिए ।

बारा जिल्ला अदालतले जर्बजस्ती करणी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी समेत जारी गरेको थियो । प्रहरीले विशेष टोली परिचालन गरेर खोजी भइरहेको बताए पनि उनलाई पक्राउ गर्न सकेको थिएन । बलात्कारको आरोप लागेका वडाध्यक्षलाई पक्राउ गर्न माग गर्दै स्थानीय वासिन्दाले कात्तिक ७ गते पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने निजगढमा प्रदर्शन पनि गरेका थिए ।

इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक संजीव ओलीले प्रहरीले खोजतलास जारी राखेको बेला श्रेष्ठ आफैं प्रहरी कार्यालयमा आएको बताए । ‘मंसिर ४ गतेको निर्वाचनमा केन्द्रीय भएकाले खोजतलास केही सुस्ताएको थियो, निर्वाचन लगत्तै खोजतलास व्यापक बनाएका थियौं,’ उनले भने, ‘उहाँ हिजो बेलुका आफैं आउनुभयो ।’

बारा जिल्ला अदालतबाट आज म्याद थप गर्ने र बयान लिने लगायतका अन्य अनुसन्धानका कार्यहरु शुरु गर्ने उनले बताए ।

जिल्ला प्रहरी कार्यालय बाराले जाहेरी परेलगत्तै घटनास्थल जाँच मुचुल्का, किशोरीको स्वास्थ्य परीक्षण गर्ने, बयान लिने लगायतका कानुनी प्रक्रियाहरु पूरा गरेको बताएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!