जसपा अध्यक्ष उपेन्द्र बारा-२ बाट उपनिर्वाचन लड्ने !

Posted on: 10 Mar, 2023

फागुन २६, काठमाडौँ | जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर पार्टी अध्यक्ष उपेन्द्र यादवलाई बारा २ बाट हुने उपनिर्वाचनमा उम्मेदवार बनाउने रणनीति लिएको छ । उपराष्ट्रपति रामसहाय निर्वाचित भएपछि बारा २ मा उपनिर्वाचन हुनेछ । सत्तारूढ गठबन्धनभित्र समेत बारा २ मा हुने उपनिर्वाचनमा उपेन्द्रलाई सहयोग गर्ने आन्तरिक सहमति भइसकेको छ ।

सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएपछि उपेन्द्र सुरक्षित क्षेत्र खोज्दै उपनिर्वाचनबाट संसद्मा पुनः प्रवेशको मौकामा छन् । त्यसैले बारा २ उनी आफ्ना लागि सुरक्षित रहेकाले आफ्ना विश्वास पात्र रामसहायलाई उपराष्ट्रपति बनाउने निर्णय पार्टीबाट गराएका हुन् ।

आमनिर्वाचनको बेलामा उपेन्द्रलाई बारा २ र बारा ३ बाट उम्मेदवार हुन स्थानीय पार्टी कमिटीले सिफारिस गरेको थियो । तर, उनी सप्तरी २ नै रोजेका थिए । अब उनी बारा २ बाट उपनिर्वाचन लडनेछन् । तर, जसपा कार्यकारिणी समितिका सदस्य एवं प्रवक्ता मनीष सुमनले पार्टी अध्यक्ष उपनिर्वाचन लड्ने कि नलड्ने भन्नेबारे पार्टीभित्र छलफल वा कुनै निर्णय नभएको बताए ।

‘आगामी उपनिर्वाचनबारे पार्टीभित्र अहिले कुनै छलफल वा निर्णय भएको छैन । यद्यपि कुनै पनि सम्भावनामा जान सक्छौं, त्यसका लागि संसदीय बोर्ड र क्षेत्रीय समितिको बैठक बस्छ, निर्णय गर्छ,’ प्रवक्ता सुमनले भने, यसबारेमा सिधै केन्द्रीय समितिले समेत निर्णय गर्न सक्छ ।’

बारा २ यादव, साह, कुशवाहा बाहुल्य क्षेत्र हो । कांग्रेस र एमालेको संगठन बलियो भए पनि जातीय प्रभाव कसरी पर्छ भन्ने कुरा गत निर्वाचनमा पनि देखिएको थियो । राधेचन्द्र यादव पार्टी जिल्ला सभापति हुँदा कांग्रेसको संगठन बलियो थियो । उनी त्यस क्षेत्रबाट दुईपटक सांसद निर्वाचित भए ।

अहिले उनकै छोरा राजेशराय यादव जिल्ला सभापति छन् । गत आमनिर्वाचनमा बारा २ पाँच दलीय गठबन्धनको भागबन्डाअनुसार माओवादी केन्द्रको भागमा परेको थियो । यहाँ कांग्रेसको उम्मेदवार थिएन । पाँच दलीय गठबन्धनका उम्मेदवार शिवचन्द्र कुशवाहालाई पराजित गर्दै रामसहाय विजयी भएका थिए ।

पाँच दलीय गठबन्धनका साझा माओवादी केन्द्रका उम्मेदवार कुशवाहाले १३ हजार ४ सय ६८ मत ल्याएका थिए । उता एमाले गठबन्धनबाट जसपाका रामसहाय १३ हजार ८ सय २२ मत ल्याएर विजयी भए । रामसहाय यसअघिको निर्वाचनमा समेत सोही क्षेत्रबाट विजयी भएका थिए ।

अन्ततः ३ सय ५४ मतान्तरले माओवादी उम्मेदवार कुशवाह पराजित भए । बारा २ बाटै उम्मेदवारी दिए स्वतन्त्र उम्मेदवार रामकिशोर यादवले ११ हजार ४३, अर्का स्वतन्त्र उम्मेदवार अरुणकुमार ज्ञवालीले ७ हजार ६ सय ९८ मत ल्याएका थिए ।

मधेस आन्दोलनको समयमा फोरममै रहेका रामकिशोर अहिले सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गर्ने चर्चा चलिरहेको छ । उपनिर्वाचन भए बारा २ मा रामकिशोर पुनः निर्वाचनमा उम्मेदवारी दिने गरी आन्तरिक तयारीमा छन् । जनमत पार्टीले उनलाई उम्मेदवार नबनाएको अवस्थामा पुनः स्वतन्त्र भए पनि उम्मेदवार हुने उनी निकटका नेताहरू बताउँछन् ।

होली पर्वअघि बारा २ को गंजभवानीपुरमा भएको होली मिलन कार्यक्रममा सो क्षेत्रबाट स्वतन्त्र एवं विभिन्न दलबाट उम्मेदवारी दिने उम्मेदवार सहभागी भएका थिए । सो बैठकबाट बारा २ मा उपनिर्वाचन भएको अवस्थामा कुनै एक प्रत्यासीले मात्रै उम्मेदवारी दिने र अरूले समर्थन गर्ने विपक्षी उम्मेदवारबीच सहमति भइसकेको छ । बैठक अरुण ज्ञवालीको घरमा बसेको थियो । जसपामा रामकिशोरलगायतका उम्मेदवार सहभागी थिए ।

उपेन्द्रलाई सप्तरी जस्तै भारी मतले बारा २ मा समेत पराजित गर्ने गत निर्वाचनमा सहभागी प्रत्यासीको आन्तरिक सहमतिले उपेन्द्रलाई उपनिर्वाचनमा विजयी हुन अप्ठ्यारो हुने देखिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!