बाराका १२ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

Posted on: 21 May, 2022

 जेठ ७, बारा | १६ स्थानीय तह रहेको बारा जिल्लाका १२ स्थानीय तहको मत गणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा एमालेले चार, कांग्रेसले दुई, लोसपाले दुई, जसपाले दुई, माओवादी केन्द्र एक र विवेकशील साझाले एक पालिकामा जित हासिल गरेको छ ।  बाराको कलैया उपमहानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विनोद प्रसाद साह २४ हजार १ सय ७४ मत ल्याई नगरप्रमुख पदमा विजयी भएका छन् भने निजगढ नगरपालिकामा एमालेका सुरथ पुरीले ९ हजार ४ सय ७५ मत ल्याई नगरप्रमुख पदमा विजयी भएका छन् । यस्तै, परवानीपुर गाउँपालिकामा एमालेका  रामक्षत्री प्रसाद कुर्मिले २ हजार ९ सय १७ र प्रसौनी गाउँपालिका एमालेकै विनोद प्रसाद जैसवालले ४ हजार ४ सय ८८ मत प्राप्त गरी गाउँपालिकाको प्रमुखमा विजयी भएका हुन् । २०७४ को निर्वाचनमा दुई पालिकामा मात्रै जित हासिल गरेको एमालेले बारामा हाल सम्ममा चार पालिकामा जित हासिल गरेको हो । यसअघि एमालेले जित हासिल गरेको कोल्हवी र जीतपुरसिमरा उपमहानगरपालिका दुबै पालिका भने गुमाएको छ ।   यस्तै, कोल्हवी नगरपालिकामा नेपाली कांग्रेसका राम प्रसाद चौधरीले ९ हजार १ सय ५ मत प्राप्त गरी विजयी भएका छन भने कांग्रसकै राजेश प्रसाद यादवले ५ हजार ३ सय ५१ मत ल्याई सुवर्ण गाउँपालिकामा विजयी भएका छन । २०७४ को निर्वाचनमा ६ पालिकामा जित हासिल गरेको कांग्रेसले बारामा हाल सम्ममा दुई पालिकामा जित हासिल गरेको हो । यस अघि कांग्रेसले जित हासिल गरेको कलैया उपमहानगरपालि सहित निजगढ, सिम्रौनगढ र करैयामाई भने हालसम्ममा गुमाईसकेको छ ।   यस्तै जनता समाजवादी पार्टी, नेपालले दुई गाउँपालिकामा जित हात पारेको छ । जसपाले देवताल गाउँपालिकाको अध्यक्षमा उदय प्रसाद यादवले ४ हजार १ सय ७६ मत र करैयामाई गाउँपालिकामा शम्भु प्रसाद यादवले ५ हजार ५ सय ९८ मतले विजयी हासिल गरेका छन । यसअघि करैयामाईमा नेपाली काँग्रेसले र देवतालमा राष्टिय जनता पार्टी, नेपालले जित हासिल गरेको थियो ।  यसैगरी, विश्रामपुर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका जुल्फकार अलि भुटोले ४ हजार ३ सय १७ मत र सिम्रौनगढ नगरपालिकामा किसोरी प्रसाद कलवारले ११ हजार १ सय ३७ मत सहित विजयी भएका छन । यस अघि सिम्रौनगढमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो । यस्तै, जीतपुरसिमरा उपमहानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का राजन पौडेलले १८ हजार ७ सय ४३ मतसहित जित हात पारेका छन् । उनको जितसगै बारामा माओवादी केन्द्रले खाता खोलेको छ । यसअघिको निर्वाचनमा माओवादी केन्द्रले कुनैपनि पालिकाको प्रमुखमा जित हासिल गर्न सकेको थिएन ।  यस्तै, बारामा विवेकशील साझा पार्टीले खाता खोलेको छ । फेटा गाउँपालिकामा विवेकशीलका रुस्तम अन्सारीले ४ हजार ४ सय ८५ प्राप्तगरी विजयी भएका हुन । अन्सारीलाई नेपाली कांग्रेसले टिकट नदिएपछि उनी विवेकशील प्रबेशगरी निर्वाचनमा हुमिएका थिए । यसअघि फेटा गाउँपालिकामा संघीय समाजवादी फोरम, नेपालले जित हात पारेको थियो ।      जिल्लाकाे आदर्श कोटवाल गाउँपालिका, पचरौता नगरपालिका, बारागढी गाउँपालिका र महागढीमाई नगरपालिकाको भने मतगणना भईरहेको जिल्ला निर्वाचन प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!