महामारी रोकथाममा बाँकेका स्थानीय तहको सक्रियता बढ्दै

Posted on: 17 May, 2021

मेनका चौधरी । जेठ ३, बाँके (रासस) । कोरोना महामारीको केन्द्र बनेको बाँकेका आठवटै पालिकाले हालसम्म ४७१ शय्याका आइसोलेसन केन्द्र स्थापना गरेका छन् । तीमध्ये नेपालगन्ज उपमहानगरपालिकाले २१०, कोहलपुर नगरपालिकाले ६५ तथा खजुरा ४०, नरैनापुर ५०, राप्ती सोनारी ४०, जानकी ३०, बैजनाथ २० र डुडुवा गाउँपालिकाले १६ शय्याका आइसोलेसन केन्द्र स्थापना गरेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

ती सबै पालिकाले आफ्ना पालिकामा रहेका एमबिबिएस डाक्टर, दुई जना स्टाफ नर्स, कार्यालय सहयोगीलाई आइसोलेसनमा खटाइएको केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी शिव गेलालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगन्ज उपमहानगरपालिकाले भने भेरी अस्पताल नेपालगञ्जकै चिकित्सकको निगरानीमा आइसोलेसन सञ्चालन गरिरहेको छ । 

सीमा नाकामा परीक्षण गर्न, इन्द्रेनी होटल तथा ह्वाइट हाउसमा सञ्चालन गरिएका आइसोसनमा काम गर्न करारमा स्वाथ्यकर्मी नियुक्त गरेर खटाइएको छ । कोभिड­१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को केही समय अगाडि बसेको बैठकमा संयुक्त रुपमा अस्पताल सञ्चालन गर्न वा भइरहेका अस्पतालको स्तरोन्नति गर्न सघाउ पु¥याउने विषयमा छलफल भए पनि कोरोना महामारी चालु आर्थिक वर्षको अन्त्यतिर फैलिएकाले बजेट विनियोजनमा समस्या देखिएको जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले बताउनुभयो । ‘‘अहिले जिल्लाका सबै पालिकाले एक्लाएक्लै गरेको प्रयास पनि सह्रानीय छ”, उहाँले भन्नुभयो, ‘‘आवश्यक जनशक्ति नियुक्त गरेर परिचालन गर्न सके अझ प्रभावकारी हुन्छ ।”

त्यसैगरी कोहलपुर नगरपालिकाले प्रेमनगरको आयुर्वेदिक प्राकृतिक चिकित्सालयमा १५ र पिपरीस्थित कृषि तालीम केन्द्रमा ५० शय्याको आइसोलेसन केन्द् सञ्चालन गरेको छ । अक्सिजनसहित १५ शय्याको आइसोलेसन सञ्चालन गरेर कतिपय सङ्क्रमितहरु उपचारपछि घर फर्किइसकेको उपप्रमुख सन्जुकुमारी थारुले बताउनुभयो । ‘‘स्वाथ्यकर्मी, एम्बुलेन्ससहितको कोभिड अस्पताल स्थापना गरेर अस्पतालमा बेड नपाएका सङ्क्रमितको चौबीसै घण्टा उपचार गरिरहेका छौं ।” 

कोरोना महामारीबाट बाँके भयावह स्थितिमा पुगेका बेलासमेत केन्द्र र प्रदेश सरकारले चासो नदिएको उको गुनासो छ । “हालसम्म जे जति प्रयास भएको छ, सबै स्थानीय सरकारले मात्र गरेको छ”, उपप्रमुख थारुले भन्नुभयो,  ‘‘सङ्क्रमतिहरुको जिउ ज्यान अब स्थानीय सरकारकै हातमा छ । त्यसैले हामी अहोरात्र उपचारको व्यवस्था मिलाउन खटिएका छौं ।” गत वर्ष कोभिड­१९ बारे जनचेतना कार्यक्रम, कोरोना प्रभावित देशबाट आउनेहरुलाई क्वारेन्टाइन, सङ्क्रमितहरुलाई राख्ने आइसोलेसन भवनको व्यवस्थापन खर्च, कोरोना प्रभावित विपन्नलाई दुई चरणमा राहत वितरणलगायतका काममा कोहलपुर नगरपालिकाले करीब रु एक करोड खर्च गरेको उपप्रमुख थारुले बताउनुभयो । कोहलपुर नगरपालिकाले हाल लक्षण देखिएका बिरामीको पिसिआर परीक्षण निःशुल्क गरिरहेको जनाएको छ । 

भेरीका चिकित्सकहरुको निगरानीमा ५० शय्याको आइसोलेसन छ । नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरु पनि गत वर्ष जमुनाहा नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई खाने बस्ने कुराको व्यवस्थापनमै लागेका थिए । यस वर्ष उपमहानगरपालिकाले नाकामै सङ्क्रमण पुष्टि भएकाहरुको उपचारका लागि आइसोलेसन केन्द्र चलाएको छ । जमुनाहा नाकामा जाँच गर्दा सङ्क्रमित पुष्टि भएकाहरुका लागि मनिकापुरस्थित ह्वाइट हाउसमा १२० तथा अस्पतालमा शय्या नपाएर होम आइसोलेसनमा बस्न बाध्य नेपालगञ्जवासीका लागि होटल इन्द्रेनीमा ५० र रामलीला मैदानस्थित नारी विकासको तालीम केन्द्रमा अक्सिजनसहितको ३० शय्याको आइसोलेसन केन्द्र सञ्चालन गरेको उपमहानगरपालिकाले जनाएको छ । यस्तै नेपालगन्जको वडा नं ४ मा पनि १० शय्याको आइसोलेसन केन्द्र चलाइएको छ ।

सामान्य लक्षणसहितका बिरामीलाई ह्वाइटहाउसस्थित आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ भने रामलीला मैदानस्थित तालिम केन्द्रमा अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालनमा छ । ती आइसोलेसन भेरी अस्पतालका चिकित्सकहरुको निगरानीमा रहेको बताइएको छ । ‘‘कोभिडका बिरामीलाई अक्सिजनसहित आइसोलेसनमा राख्न थालिएको छ”, मेयर डा धवलशमशेर राणाले भन्नुभयोे, ‘‘अस्पतालमा बेड नपाइरहेका बेला यस्ता आइसोलेसन केन्द्रले बिरामीलाई राहत मिल्ने अपेक्षा गरेका छौँ ।” गत वर्ष कोरोना भाइरस सबैका लागि नयाँ भएकोले आत्तिएर जसले जे भन्यो त्यसमै बजेट खर्च गरेको प्रमुख राणाले बताउनुभयो । उहाँले भन्नुभयो,  ‘‘कोभिडकै नाममा उपमहानगरले गत वर्ष तीन करोड रुपैयाँभन्दा बढी खर्च गरेको थियो । यस वर्ष धेरै सहयोगी हात पाएका छौँ ।”

जिल्लाका जनप्रतिनिधिले गत वर्ष कोरोना महामारीको रोकथामका लागि जमुनाहा नाका पुगेर नेपाल प्रवेश गर्ने आफ्ना पालिकाका नागरिकलाई सामान्य स्वाथ्य परीक्षणपछि सिधै पालिकामा स्थापना गरिएको क्वारेन्टाइनमा राखेका थिए । त्यहाँ उनीहरुका लागि दुई हप्तासम्म खाना, ओढ्ने ओछ्याउने तथा लगाउने कपडाको समेत व्यवस्था गरेको जनप्रतिनिधिहरु बताउँछन् । यसो गर्ने क्रममा गत वर्ष कयौं जनप्रतिनिधि सङ्क्रमित भएका थिए । गत वर्ष समुदायमा कोरोना भाइरस फैलिन नदिन नाकाबाटै सावधानी अपनाएर क्वारेन्टाइनमा ल्याएर राख्ने गरिएको तर यस वर्ष पालिकाअन्तर्गतका सङ्क्रमितलाई आइसोलेसनमा ल्याएर राख्ने काम गरिरहेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!