पेन्सन पाउँदा कृषकमा छायो खुसीयाली

Posted on: 24 Jan, 2022

माघ १०, राँझा | ब्यवसायीक भैँसीपालन गर्दै आउनुभएका नरैनापुर गाउँपालिका–५ मटेहिया निवासी बलियासार यादव गाउँपालिकाबाट कृषक पेन्सन पाउँदा दङ्ग हुनुभएको छ । 

“गाउँपालिकाले हामीलाई सम्झिएर भत्ता दिएकोमा धेरै खुसी लागेको छ”, ४९ भैँसी र पाँच गाईपालन गरी दूध बेचेर जिविकोपार्जन गर्दै आउनुभएका उहाँले भन्नुभयो,“अव कृषि तथा पशुपालन गर्न थप जाँगर आएको छ ।” बाँकेको नरैनापुर गाउँपालिकाले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न यादव सहित १२ कृषकलाई पेन्सन वितरण गरेको छ । कृषक पेन्सन कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको छ महीनामा १२ जना कृषकलाई छनौट गरी जनही दुई हजारका दरले कृषक पेन्सन बितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकामा चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी प्रति किसान दुई हजारका दरले कृषक पेन्सन कार्यक्रम शुरु भएको हो । कृषक पेन्सन कार्यक्रमका लागि पहिलो वर्ष ६ जना व्यावसायिक पशुपालक कृषक र ६ तरकारी खेती गर्ने किसानलाई छनौट गरी कृषक पेन्सन कार्यक्रम वितरण गरिएको छ ।

कार्यक्रमले आगामी वर्ष नरैनापुरका किसानका बीचमा अझ प्रतिस्पर्धाको भावना उत्पन्न भई गाउँपालिकालाई नै कृषि र पशुपालनका क्षेत्रमा आत्मनिर्भर बनाउन प्रेरित गर्न मद्दत पु¥याउने विश्वास लिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

“गाउपालिकामा कृषि र पशुपालनको अपार सम्भावना छ”, उहाँले भन्नुभयो,“ परम्परागत कृषि र पशुपालनमा विश्वास गर्दे आएका यहाँका किसानलाई आधुनिक कृषितर्फ आकर्षित गराउन पनि कृषक पेन्सन कार्यक्रम लागू गरिएको हो ।”

गाउँपालिकाको कृषि शाखाबाट छनौटमा पर्ने ६ जनामा सबै जना व्यावसायिक तरकारी खेती गर्दै आएका किसान परेका छन् । वडा नं. ५ मा १९ कठ्ठामा व्यावसायिक तकारी खेती गर्ने हस्मत अली साई, १४ कठ्ठामा तरकारी लाउनुभएका हमिद मुकेरी, १२ कठ्ठामा तरकारी खेती गर्दै आउनुभएका वडा नं ४ दौलतपुरका धनविर थारु, १० कठ्ठामा तरकारी खेती गर्ने वडा नं. २ निवासी रामसुरत मौर्य, सोही वडाकी आरती देवी मौर्य र ५ कठ्ठामा तरकारी खेती गर्दै आउनुभएकी वडा नं. १ की कमला तिवारीले कृषक पेन्सन प्राप्त गर्नुभएको छ ।

यसैगरी पशुपालक किसानबाट दुई हजार कुखुरा पालन गर्दै आउनुभएका वडानं. ६ निवासी अमरलाल मौर्य, ५ गाई र ४९ वटा भैँसी पाल्नुभएका वडा नं. ५ का वलियासार यादव र वडा नं. २ का जहाँ इफरान अहमद कृषक पेन्सनमा छनौटमा पर्नुभएको छ ।

वडा नं. ५ का हरिशङ्कर मुराउ, वडा नं. ४ का छोटेलाल राढ र वडा नं. ५ का रामसुमत यादवले पनि कृषक पेन्सन प्राप्त गर्नुभएको छ । व्यावसायिक कृषि कर्म गर्ने तथा पशुपालनलाइ व्यवसाय बनाउनेलाई आधार बनाएर किसान छनौट गरी कृषक पेन्सन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!