साँफे–मार्तडी राजमार्ग सडक अवरुद्ध

Posted on: 11 Jul, 2021

असार २७, मार्तडी (रासस)। लगातारको अविरल वर्षाका कारण साँफे–मार्तडी राजमार्ग पुनः अवरुद्ध भएको छ । केही दिनदेखि सञ्चालनमा आएको राजमार्ग पुनः अविरल वर्षाका कारण सडकमाथिबाट आएको पहिराले अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार राजमार्ग सडकको बल्दे, अम्कोट, द्वारी र ओलेनामा ठूलो पहिरो आएर अवरुद्ध बनेको छ । उक्त क्षेत्रमा ठूलो पहिरो आएको र पन्छाउनका लागि स्काभेटर तयार रहेको भए पनि पानी नरोकिएका कारण सडक खुलाउन सकिने अवस्था नरहेको प्रहरी निरीक्षक साउदले बताउनुभयो ।

असारको शुरुआतबाटै आएको अविरल वर्षाका कारण राजमार्गको पहिरो पन्छाएर जीप तथा मालबाहक ट्र्याक्टर सदरमुकाम मार्तडीमा सहजरूपमा आवतजावत गर्ने गरेको भए पनि आज बिहान पुनः अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो । उहाँले अवरुद्ध सडक पानी रोकिएपछि तत्काल स्काभेटर प्रयोग गरी पहिरो पन्छाएर यातायातका साधन सञ्चालनमा ल्याउने बताउनुभयो ।

जिल्लामा शुक्रबारदेखि लगातार अविरल वर्षा हुँदा बाढी र पहिराको त्रास बढ्न थालेको छ । डोजर प्रयोग गरेर बनाइएका सडकका कारण पहिरो जान थालेपछि यहाँका नागरिक त्रसिन बनेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!