ओझेलमा छन्: बझाङको बुङगल क्षेत्रका भर्जिन पर्यटक स्थलहरु

Posted on: 27 Aug, 2017

भदौ ११, बझाङ | बझाङको बुङगल क्षेत्रका पर्यटकियस्थलहरु प्रचार प्रसारको अभावले ओझेलमा परेका छन् । जिल्ला सदरमुकाम बाट टाढा र यातायात को पहुँच नहुँदा पर्यटकियस्थलहरु ओझेलमा परेका हुन ।

बुङगल क्षेत्रको साविकको पिपलकोट गा.वि.स मा पर्ने धार्मीक ऐतिहासिक तथा पर्यटकियस्थल बडडी ज्यावन, दहबगर गा.वि.सको थानपाटन क्षेत्र, धौलाढुङगा गुफा, चुफीताल, बाईसधारा क्षेत्र, डोलारी देवताको मन्दीर र चिउरीगाडको झरना लगायतका भर्जिन पर्यटकियस्थलहरुको प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेका हुन । पर्यटन क्षेत्रको विकासका लागी यस क्षेत्रमा असल नेतृत्वको कमि हुनु र आफैमा भौगोलिक विकटता हुनुले यस यस क्षेत्रको प्रचार प्रसार हुन नसकेको स्थानिय बासिन्दाहरुको भनाई रहेको छ ।

यस क्षेत्रको पर्यटन विकासका लागी नगरपालिकाले छुट्टै योजना बनाएर प्रचार प्रसार गर्ने बुङगल नगरपालिकाका नवनिर्वाचित मेयर धन बहादुर विष्टको भनाई छ । पर्यटन व्यवसाय प्रचुर सम्भावना बोकेको यस क्षेत्रका धार्मीक तथा पर्यटकियस्थलहरुको पहिचान गरि यसको विकासका लागी प्याकेज बनाएर प्रचार प्रसारमा लाग्ने उनको भनाई थियो । पहिले गा.वि.स स्तरमा कम बजेट आउने र गााउघरका समस्या हल गर्दैमा ठिक्क हुने हामीहरुको राजनैतिक पहुँच जिल्ला देखि केन्द्र सम्म नपुग्ने गरेका कारण ओझेलमा परेका हुन । तर हामी अब त्यसो हुन दिदैनौँ । सबै काम गर्ने नगरपालिकानै हो अबको तीन बर्ष भित्र नगरपालिका भित्रका पर्यटकियस्थलहरुको अध्ययन गरि जिल्लामा छुट्टै पहिचान बनाउ तिर लाग्छौ उनले भने । प्रचार प्रसारको अभावले बुङगल क्षेत्रका पर्यटकियस्थलहरु अझै पनि भर्जिन रहेको जानकार हरु बताउछन् ।

धौलाढुङगा गुफा र त्यस भित्रको अदभुत दृश्य । 


बझाङ सदरमुकाम चैनपुर बाट २२ कोस टाढा रहेको बुङगल नगरपालिकाको वडा नं २ साविकको दहबगर गा.वि. वडा नं ६ गिरौँ बाट एक दिनको पैदल यात्रा पछि धौलाढुङगा पुगिन्छ । समुन्द्री सतह बाट करिव ३ हजार ५सय मिटरको उचाईमा रहेको यो गुफा भित्र एउटा अदभुत दृश्य देख्न सकिन्छ । चट्टान भित्रबाट छिनमा आउने र छिनमा रोकिने पानीले मानिसहरु अचम्मित हुने गर्दछन् । किवदन्ति अनुसार धौलपुर देवता र लाङो दुई भाई सैपाल हिमाल हुदै तिब्बतको मानासरोवर जाने वेलामा धौलपुर देवता लाई थकाई लागेको ले सोही गुफामा वास बसेका थिए । यता उता कुनै ठाँउमा खोज्दा पानी नपाउँदा धौलपुरले आफु संग भएको त्रिशुलले चट्टान खोपे पछि पानी निस्केको भनाई छ । सो चट्टानमा झट्ट हेर्दा त्रिशुलले खोपेको जस्तो देखिन्छ र जहाँ बाट छिनमा पानी निस्कने र केहिवेरमै बन्द हुने दृश्य आज पनि देख्न सकिन्छ । यस क्षेत्रलाई धार्मीक तथा पर्यटकियस्थलको पहिचान गरि प्रचार प्रसार गर्न सके सो क्षेत्र पर्यटकिय हिसावले उत्तम हुने दहबगर ६ लौनेका दले धामीको भनाई छ । भेडाच्याङग्रा चराउन जाँदा र छिमेकी राष्ट्र चीनको तिव्वत जाँदा कयौ रात सो गुफामा विताएको उनको अनुभव छ । अरुको ठाँउमा साना साना स्थलहरु पनि पर्यटकिय सम्भावना भनि बजेट विनियोजन भई प्रचार प्रसार भई रहेको छ तर हाम्रो ठाँउको प्रचार नगरेका कारण ओझेलमा परेको उनको भनाई छ । धौलाढुङगा गुफा बाट दुई घण्टाको पैदलयात्रा पछि जिल्लाको सबै भन्दा उचाईमा रहेको चुफिताल पुगिन्छ । विहानी पख सुर्योदयको बेलामा र हावा चलेको वेलामा यस तालको मनमोहक दृश्य देखिन्छ । 

तश्विरमा: भिडेगाड र चिउरीगाड झरना


धौलाढुङगा जानेक्रममा बाटोमा झरनाको रमाईला दृश्य पनि देख्न सकिन्छ । दहबगरको सबै भन्दा टाढाको गाँउ लौने पुग्दा चिउरीगाड झरना देख्न सकिन्छ भने गाँउ भन्दा माथि भिडेगाड झरनाको रमाईलो दृश्य देख्न सकिन्छ । समुन्द्री सतह बाट २ हजार मिटरको उचाईमा रहेको चिउरीगाड झरना करिव दुई सय फिट माथि ३ हजार मिटरको उचाईमा रहेको भिडेगाड झरना करि ६ सय फिट माथि बाट खसेका छन् । यी झरना पनि आर्कषणको केन्द्र विन्दु हुन । पहुँच पुग्ने ठाँउमा साना साना छाँगाहरुलाई पनि प्रचार प्रसार गरि रहेको तर यी झरनाहरुको बारेमा प्रचार प्रसार नहुँदा दहबगरवासी भन्दा बाहिरका मानिसहरुलाई थाहा नभएको स्थानियवासीहरुको भनाई छ । 

तश्विरमा: थानपाटन क्षेत्र


दहबगरको गिरौँ बाट ५ घण्टाको पैदल यात्रा पछि पुगिने थानपाटन क्षेत्र सुदुर पश्चिमको पर्यटकिय क्षेत्र खप्तडका पाटन भन्दा कम छैन । बर्षातको समयमा यस क्षेत्रमा यहाँका वासीन्दाहरुले घोडा तथा भेडाबाख्रा चराउने गर्दछन् । विशेषतहः जेठ देखि भदौ महिना सम्म यस क्षेत्रमा घोडा र भेडाबाख्रा चर्दाको दृश्यले थानपाटन पुग्ने जोकोहिको मन लोभ्याउने गर्दछ । तर यस षेत्रको संरक्षण र प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको बमौरका जयमल धामीको भनाई छ । सानो लगानीले केहि गर्न सकिदै ठुलो बजेट ल्याउन पहुँच छैन । पहुँच नहुदा यस क्षेत्रको प्रचार गर्न नसकियको उनको भनाई छ । 

तश्विरमा: धार्मीक तथा पर्यटकियस्थल बडडी ज्यावन 


साविकको पिपलकोट गा.वि.समा रहेको बडडी ज्यावन धार्मीक ऐतिहासिक एवम् पर्यटकियस्थल पनि हो । यसको पनि प्रचार प्रसार हुन सकेको छैन । किदन्ती अनुसार १२ वटा देवताहरुको वसोबासस्थल भएकाले यसलाई बाह्रदेउ ज्यावन पनि भन्ने गरिन्छ । यो एकदम शक्तिशाली देवताको रुपमा चिनिन्छ । समुन्द्रि सतह बाट २ हजार ५ सय मिटरको उचाईमा रहेको यो क्षेत्रमा नयाँ बर्ष र दशैँको वेला बोकाको वलि दिने प्रचलन छ । यो क्षेत्रमा पुजा गर्न सुदुर पश्चिमका नौ वटै जिल्ला र छिमेकि राष्ट्र भारतको पिथोरागढ, हल्दवानी, धारचुला लगायतका ठाँउहरु बाट पुजागर्न आउने भक्तजनहरुको घुईचो लाग्ने गर्दछ । यस क्षेत्रमा पुग्न पिपलकोट र दहबगर बाट ६ घण्टाको पैदल यात्रा पछि पुग्न सकिन्छ । यस क्षेत्रमा पुग्नका लागी यातायात सेवा संचालनमा आए साविकको भन्दा बढि भक्तजनहरु भित्रने स्थानियहरुको भनाई छ । बडडी ज्यावन जस्तै बाईसधारा, डोलारी मराड क्षेत्र पनि पयर्टकिय हिसावले अत्यन्तै राम्रा मानिएका छन् । तर यि क्षेत्रहरुको पहिचान नहुदा ओझेलमा परेका छन् । त्यसैले यस क्षेत्रको पर्यटन विकासका लागी नगरपालिकाले आवाज उठाउनु जरुरी छ । - मकरराज धामीको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!