बझाङमा बजार नपाउँदा ५० टन प्याज कुहिने अवस्थामा

Posted on: 01 Sep, 2016

सम्राट सिंह/भदौ १६, बझाङ । गतबर्षहरुमा सधै प्याजको अभाव हुने बझाङ जिल्लामा यसबर्ष भने बजार नपाउँदा झण्डै ५० टन प्याज कुहिने अवस्थामा छ ।

स्थानिय प्याज भन्दा तराईबाट आयात भएको प्याजको बजारभाव सस्तो भएकाले करोडौ मुल्य बराबरको स्थानिय प्याज बिक्री नभएर कुहिने अवस्थामा पुगेको हो । लामो मेहनतपछि उत्पादन गरेको प्याज बिक्री नभएर कुहिने अवस्थामा पुगेपछि बझाङका कृषकहरुमा चिन्ता छाएको छ । 

बजार नपाउँदा उत्पादन गरेको प्याज बिक्री नभएर कुहिने अवस्थामा पुगेको सुवेडाका कृषक रामप्रसाद जोशीले बताए । सुवेडामा मात्र करिब ३० टन प्याज बिक्री नभएर थन्किएको उनको भनाई छ । 

जयपृथ्वी नगरपालिकाको सुवेडा, चैनपुर, हेमन्तवाडा, लुयाटा, रिठापाटा र पाराकाट्ने,दंगार्जी एवं रायल लगायतका गाविसका कृषकहरुले उत्पादन गरेको प्याज बिक्री नहुँदा थन्किएको हो । 

तराइबाट ढुवानी सहित १९ रुपियाँ प्रतिकिलो बझाङमा पुग्ने गरेको र स्थानिय कृषकहरुले २३ रुपियाँ भन्दा कममा बिक्री नगर्दा प्याज थन्किएको सदरमुकाम चैनपुरका तरकारी व्यापारी लोक बहादुर वलीले बताए । उनले भने बजार माग भन्दा उत्पादन धेरै भएकाले प्याज बिक्री नभएर कुहिने अवस्थामा पुगेको हो ।

कृषकहरु तरकारी खेतीमा उन्मुख भएपछि हरेकबर्ष बाहिरी जिल्लाबाट तरकारी भित्रिने बझाङ जिल्लामा यसबर्ष भने  बाहिरी जिल्लाबाट भित्रिने तरकारीमा कमी आएको छ । 

धान र गहुँ खेतीमा मात्र उन्मुख भएका बझाङका कृषकहरु तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन ।

उत्पादन भएको प्याज कुहिने डरले सम्पूर्ण कृषकहरुले घरको छत अथवा खुल्ला ठाउँमा फिँजेर राखेका छन । फिँजेर राखेको प्याजको पनि टुसा पलाउन थालेपछि कृषकहरुले बजारका लागि कृषि विकास कार्यालयलाई पहल गरीदिन अनुरोध समेत गरेका छन । जिल्लामा कोल्ड स्टोर नहुँदा करोडौको प्याज कुहिने अवस्थामा पुग्दा समेत सरोकारवालाको भने बजारको लागि पहल गरेको छैन ।

माग भन्दा उत्पादन बढी भएकाले प्याज थन्किएको जिल्ला कृषि विकास कार्यालय बझाङका जेटिए मदनराज जोशीले बताए । उनले भने बिक्री नभएर प्याज थन्किएको कुरा माथिल्लो निकायमा जानकारी गरी सकेको छु तर कुनै जवाफ आएको छैन । 


 


यस बिषयमा तपाइको प्रतिक्रिया...!