किन घट्यो त बैतडीको जनसङ्ख्या ?

Posted on: 31 Jan, 2022

माघ १७, बैतडी | बैतडीको जनसङ्ख्या साढे ६ हजार घटेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या घटेको पाइएको हो । विसं २०६८ को जनगणनाअनुसार बैतडीको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेकोमा १० वर्षमा घटेर दुई लाख ४४ हजार ४०० पुगेको छ । दश वर्षमा ६ हजार ४९८ घटेको साविकको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताउनुभयो । 

सार्वजनिक विवरणअनुसार जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या पुर्चौडी नगरपालिकामा रहेको छ । त्यहाँको जनसङ्ख्या १९ हजार ९६५ रहेको छ । दशरथचन्द नगरपालिकाको जनसङ्ख्या १६ हजार ७३३, पाटनको जनसङ्ख्या १४ हजार ९४५ र मेलौलीको जनसङ्ख्या ११ हजार २६५ रहेको छ । दोगडाकेदार गाउँपालिकाको जनसङ्ख्या १२ हजार ७६५, सिगास गाउँपालिकाको जनसङ्ख्या १२ हजार ३२६, डिलाशैनी गाउँपालिकाको जनसङ्ख्या ११ हजार ८८६, शिवनाथ गाउँपालिकाको जनसङ्ख्या नौ हजार ७५८, सूर्नया गाउँपालिकाको जनसङ्ख्या नौ हजार ६८१ र पञ्चेश्वर गाउँपालिकाको जनसङ्ख्या नौ हजार ६५० रहेको छ । 

बसाइसराइलगायत कारणले जिल्लाको जनसङ्ख्या घटेको प्रमुख पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “जनसङ्ख्या घट्नुको प्रमुख कारण बसाइसराइ नै हो, तराइको जनसङ्ख्या बढेकाले पहाडबाट बसाइ सरेर तराइ झर्ने बढेका छन् ।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!