बागलुङमा आजदेखि निषेधाज्ञा, सङ्क्रमित जनप्रतिनिधिको मृत्यु

Posted on: 04 May, 2021

वैशाख २१, बलेवा | कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि बागलुङमा आजदेखि १० दिनका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिश गरेपछि निषेधाज्ञा जारी भएको हो ।

समितिको निर्णयअनुसार बागलुङ नगरपालिकामा वैशाख महिनाभर निषेधाज्ञा जारी भएको छ । यसअघि बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घले निषेधाज्ञाका लागि प्रशासनमा अनुरोध गरेका थिए । निषेधाज्ञाको समयमा सरकारी कार्यालय भने आंशिक खुल्नेछन् । कार्यालय प्रमुखले आलोपालो प्रणालीमा भीडभाड कम हुने गरी कार्यालय सञ्चालन गरेर अत्यावश्यक सेवा दिन समितिले निर्देशन दिएको छ ।

सङ्क्रमित जनप्रतिनिधिको मृत्यु

बागलुङमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । जिल्लाको ताराखोलागाउँपालिकाका ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा गए राति धवलागिरि अस्पतालमा मृत्यु भएको हो । 

श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आउनुभएकी उहाँको वैशाख १९ गते गरिएको जाँचमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको सघन उपचारकक्षमा राखेर उहाँको उपचार भइरहेको थियो । श्वासप्रश्वासकै समस्याका कारण उहाँको मृत्यु भएको अस्पतालका डा शैलेन्द्र विक पोखरेलले बताउनुभयो । उहाँ गाउँ कार्यपालिका सदस्य हुनुहुन्थ्यो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!