कफी खेतीमा युवा पुस्ताको आकर्षण

Posted on: 21 Jun, 2021

असार ७, फुङ्लिङ (रासस) । ताप्लेजुङ जिल्लामा पछिल्लो समयमा युवापुस्ताको व्यावसायिक कफी खेतीतिर  आकर्षण बढ्दै गएको  छ । कफी खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले बिस्तारै यसको खेतीतिर आकर्षण बढ्दै गएको हो । पछिल्लो समय कफीको बजार माग बढ्दै गएसँगै यसबाट राम्रो आम्दानीको सम्भावना देखेपछि किसानले व्यावसायिकरूपमै खेती शुरु गरेका हुन् । 

हाल आठराई त्रिवेणी गाउँपालिका–३ हाङ्पाङ र वडा नं ५ चाँगे तथा मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका किसानले व्यावसायिकरूपमा कफी खेती शुरु गरेका छन् । शुरुमा परीक्षण गर्दा नै कफी राम्ररी फस्टाएको र कफीका लागि उपयुक्त हावापानी र जमीन रहेको पाइएपछि स्थानीय किसानले व्यावसायिक खेती शुरु गरेको बताइएको छ । किसानका अनुसार अहिले धमाधम कफी खेती विस्तार हुन थालेको छ ।

ढुङ्गेसाँघुका किसान चन्द्र तामाङले हाल व्यावसायिक कफी खेती शुरु गर्नुभएको छ । चार वर्ष अघिदेखि कफीको बिरुवा रोप्न शुरु गरेर अहिलेसम्म करिब ४० रोपनी क्षेत्रफलमा खेती विस्तार गरेको तामाङले बताउनुभयो । उक्त क्षेत्रफलमा एकहजार ५०० बिरुवा रोपेको र शुरुशुरुमा रोपेको बोटमा फल लाग्न थालेको उहाँले बताउनुभयो । उहाँले यसवर्ष चारहजार किलोग्रामसम्म कफी उत्पादन हुने बताउनुभयो ।

ढुङ्गेसाँघुकै अर्का किसान ध्रुव वनेमले कफीको व्यावसायिक खेती शुरु गर्नुभएको छ । वनेमले १५० रोपनीभन्दा बढी क्षेत्रफलमा करिब दुई हजार ५०० बिरुवा लगाउनुभएको छ । उहाँको खेतीबाट पनि उत्पादन हुन थालेको र दुई हजार ५०० किलोग्रामसम्म उत्पादन हुने अनुमान लगाएको उहाँको भनाइ छ । तामाङ र वनेमसहित ढुङ्गेसाँघुका छ जना किसानले व्यावसायिक कफी खेती शुरु गरेका छन् । 

यस्तै आठराई त्रिवेणी–३ हाङ्पाङका किसान लक्ष्मीप्रसाद पोखरेलले पनि आफूले लगाएको कफी खेतीबाट उत्पादन हुन थालेको जानकारी दिनुभयो । सोही गाउँपालिकाको वडा नं ५ चाँगेका स्थानीय किसान घनु गौतमले पनि व्यावसायिक कफी खेती लगाउनुभएको छ । यसरी हाङ्पाङ र चाँगेमा दर्जनौँ किसानले व्यावसायिकरूपमा कफी खेती शुरु गरेको बताइएको छ । 

यता कफी खेतीबाट आम्दानी पनि हुन थालेको किसानले बताएका छन् । उत्पादित कफी अहिले प्रतिकिलोग्राम रु ८० ले बिक्री गर्दै आएको किसानको भनाइ छ । प्रशोधन गरेको कफी भने प्रतिकिलो रु ७०० का दरले बिक्री हुने हुँदा किसान आफैँले गाउँमै कफी प्रशोधन गर्ने व्यवस्थाका लागि जुट्दै आएको पनि बताएका छन् । हाल व्यावसायिक खेती शुरु भएको क्षेत्र ढुङ्गेसाँघु, चाँगे र हाङ्पाङबाट करिब १० हजार किलोग्रामसम्म कफी उत्पादन हुन थालेको ढुङ्गेसाँघुका किसान तामाङले जानकारी दिनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!