लगातारको वर्षाले तरकारीखेती नष्ट

Posted on: 11 Aug, 2016

साउन २७, बर्दिवास । लगातारको वर्षाका कारण तरकारी उत्पादक किसानको पिरोलो बढेको छ । 

वर्षाले गोडमेल र उपचार गर्न नपाएपछि तरकारी नष्ट हुन थालेको छ । बोट पहेँलिदै गएपछि किसान पिरोलिएका छन् । माटो भिजाएर सिँचाइ गरिने तरकारीबारीमा दिनहुँ परेको पानीले बाधा पु¥याएको तरकारी उत्पादक किसान सत्यनारायण यादवले बताउनुभयो । 

तरकारीबाली गोडमेलका लागि माटो रुखो हुनपर्ने भएकाले लगातारको वर्षाले बारी रुखिन नपाउँदा एकपछि अर्को समस्या बढेको किसान बताउँछन् । गोडमेल नगरी कीराको उपचार प्रभावकारी नहुने र उपचारकै लागि पनि घाम लाग्नुपर्ने हुँदा अहिलेको मौसम नै तरकारीबालीका लागि प्रतिकूल भएको पशुपतिनगर– १ का तरकारी उत्पादक किसान महेन्द्रसिंह कुशवाहा बताउनुहुन्छ । 

जिल्लाको बर्दिवास नगरपालिकाका माइस्थान, भव्सी, चेरु, गणन्ता, बरडाँडा, ढुङ्ग्रे र टुटेश्वरलगायत बस्ती परवलखेतीका लागि कहलिएका छन् । तर, यसपाली लगातारको पानीले गोडमेल र उपचार नपाउँदा फागुनसम्म फल्नुपर्ने परवल पहँलिएर सुकेका छन् । 

जिल्लाका पशुपतिनगर, बिजलपुरा, बेलगाछी, माइस्थान, भरतपुर, धमौरा, इकरहिया, बनौटा र भङ्गाहासहितका गाविस बस्ती तरकारी उत्पादनका पकेटक्षेत्र हुन् । जिल्लामा अहिले वर्षभरी मौसमी र बेमौसमी गरी १० हजार हेक्टरमा तरकारीबाली लगाउने गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सुकेश्वर झाले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!