सिन्दुरे रोगले गहुँ नष्ट, बैतडीका किसान चिन्तित

Posted on: 14 Mar, 2020

चैत १, बैतडी | सिन्दुरे रोगले गहुँ नष्ट भएपछि बैतडीका किसान चिन्तित बनेका छन् ।  जिल्लाका  विभिन्न स्थानमा लगाएको गहुँबालीमा पहेँलो सिन्दुरे रोग देखा परेको हो । 

दोगडाकेदार गाउँपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका, डिलाशैनी गाउँपालिकाका विभिन्न क्षेत्रमा सो रोग देखा परेको कृषि प्राविधिकले बताएका छन् । दोगडाकेदार–२ को घमालीमा गहुँमा सो रोगको प्रकोप देखा परेको कृषि प्राविधिक कविराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “करिब छ हेक्टर जमिनमा लगाएको गहुँबालीमा पहेँलो सिन्दुरे रोगको प्रकोप देखा परेको छ ।” 

गहुँबाली उक्त रोगले सखाप पारेको किसान वीरबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खेतमा लगाएको सबै गहुँबालीमा पहेँलो सिन्दुरे रोगको प्रकोप देखा परेको छ ।” पाटन नगरपालिका–६ मा गहुँबालीमा त्यही रोगको प्रकोप देखा परेको सो नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताउनुभयो । गहुँ उत्पादनको पकेट क्षेत्र मानिएको पाटनमा रोगले गहुँबाली नष्ट भइरहेको उहाँले बतउनुभयो । उहाँले भन्नुभयो, “रोग अवरोध जात नछरेका कारण गहुँबालीमा सो रोगको प्रकोप देखा परेको हो, ढुसीका कारण पनि गहुँबालीमा यो रोग देखा पर्ने गरेको छ ।” पाटनमा पनि छ हेक्टर बढी जमिनमा लगाएको गहुँबालीमा उक्त रोगको प्रकोप देखा परेको जनाइएको छ । 

गहुँबालीमा रोगको प्रकोप देखा परेकाले यो वर्ष गहुँ उत्पादनमा कमी आउने सङ्केत देखिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो । यो वर्ष लगातारको वर्षाले पनि गहुँबालीमा विभिन्न रोग देखा परेको उहाँले बताउनुभयो । बैतडीमा २० हजार ९०० हेक्टरमा गहुँ खेती गरिन्छ जसमध्ये १० हजार ५०० हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा रहेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!