अदुवामा चार गुणा मूल्यवृद्धि, कृषक हर्षित

Posted on: 14 Sep, 2019

भदौ २८, पाँचथर | गत वर्षको तुलनामा यस वर्ष उचित मूल्य पाएपछि पाँचथरका अदुवा कृषक खुशी भएका छन् । गत वर्ष प्रति मन अदुवाको मूल्य रु एक हजारदेखि पन्ध्र सयको हाराहारीमा भएकोमा यस वर्ष बढेर रु ६ हजार पुगेको छ । 

उत्पादनमा कमी तथा भारत निर्यात गर्न सहज भएकाले झण्डै चार गुणा मूल्य वृद्धि भएपछि किसान उत्साहित बनेका हुन् । अघिल्लो वर्ष निकासीमा भारतले अवरोध गरेपछि उत्पादित अदुवा निर्यात गर्न निकै समस्या भएको थियो । लगानी नउठेको भन्दै व्यावसायिक खेती गरिरहेका अधिकांश कृषकले यो वर्ष अदुवाखेती गरेका थिएनन् ।

अदुवाको उत्पादनमा ५० प्रतिशतले कमी आएपछि मूल्य भने चार गुणाले बढेको हो । उत्पादन कम हुनु र भारत निकासीमा सहज हुनुले अदुवाको भाउ राम्रो आएको अदुवा व्यापारी ढकेन्द्र भट्टराईको भनाइ छ । फागुन, चैत महीनामा रोपिएको अदुवा अहिले फलिसकेको छ । पहिले रोपिएको अदुवा झिकेर पुनः प्रयोग गर्न सकिने भएकाले यसबाट खासै नोक्सानी बेहोर्नु नपर्ने कृषकको भनाइ छ ।

गाउँका स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन् । पाँचथर मिक्लाजुङ–२ का कृषक भक्त चुहानले भन्नुभयो, “विगतका वर्षमा अदुवाको भाउ नआएपछि कमै कृषकले मात्रै अदुवा रोपेका थिए, तर उत्पादन भएको हुँदा र भारत निकासीमा सहज भएकााले होला गत वर्षभन्दा चार गुणा बढी भाउ आयो, अत्यन्तै हर्षित छौँ ।”

विगत वर्षदेखि नै पाँचथरको अदुवा भारतीय बजारमा निकासी हुँदै आएको छ । अदुवाबाट मसला, सुठो, सेन्ट, जाम, क्यान्डी, स्याम्पुलगायत बनाउन सकिन्छ । प्रदेश नम्बर १ का १४ जिल्लामध्ये पाँचथर, इलाम, तेह्रथुम, ताप्लेजुङ, धनकुटामा व्यावसायिक अदुवाखेती हुने गरेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!