बैतडी सहित सुदुर पश्चिमका पहाडी जिल्लाहरुमा कोदोको बीउ पाउनै मुस्किल

Posted on: 05 Sep, 2019

भदौ १९, बैतडी | पछिल्लो समय कोदो खेतीतर्फ किसानको आकर्षण घट्नुका साथै बीउ पाउनसमेत मुस्किल भएको छ । जिल्लामा कोदो बाली लोप हुने अवस्थामा पुगेको छ । 

पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेका हुन् । केहीले फाट्टफुट्ट रुपमा घरायसी प्रायोजनका लागि मात्र कोदोखेती गर्ने गरेको पाइन्छ ।  कुनै समय सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङ र बाजुरामा प्रशस्त मात्रामा कोदोखेती गरिन्थ्यो । अहिले ती जिल्लामा कोदो लोप हुने अवस्थामा पुगेको छ । स्वास्थ्यका लागि निकै फाइदाजनक मानिएको कोदोखेतीतर्फ किसानको आकर्षण घट्दै गएको सुर्नया गाउँपालिका–३ का प्रेमसागर भट्ट बताउनुहुन्छ । 


आयातित खाद्यान्नमा पोषक तत्व कम पाइने भएकाले पछिल्लो समय बालबालिकामा कुपोषणबाट ग्रस्त भएको श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज वीरसिंह भाटले बताउनुभयो । कोदो, मादुरो, भटमासलगायत बालीको महत्वबारे जानकारी दिनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । “पुराना बालीमा पाइने पोषकतत्वका विषयमा ज्ञान नहुँदा लोप हुन थालेका हुन्”, उहाँले भन्नुभयो । 

दार्चुलाको लेकम गाउँपालिकाका गणेश कार्की कोदो, मादुरो, जौँलगायत बाली लगाउन किसानलाई प्रेरित गर्नुपर्ने बताउनुहुन्छ । “भैँसीपालन घटेसँगै यी बाली पनि लोप हुँदै गएका छन्”, उहाँले भन्नुभयो । कोदो खेतीतर्फ किसानलाई आकर्षित गराउन स्थानीय तहले विषेश योजना ल्याउनुपर्नेमा कार्कीले जोड दिनुभयो । अन्य खेतीभन्दा कोदोखेतीमा बढी मेहनत गर्नुपर्ने भएकाले पनि आकर्षण घट्दै गएको हो । बैतडीमा गत वर्ष ४६४ मेट्रिक टन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो । जिल्लामा गत वर्ष करीब ३०० हेक्टरमा कोदोखेती गरिएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!