दाङमा रासायनिक मल नहुँदा किसान मारमा

Posted on: 16 Jul, 2019

असार ३१,  दाङ | दाङमा रासायनिक डिएपी मलको अभाव भएको छ । रोपाइँको समयमा डिएपी मल नहुँदा किसान मारमा परेका छन् । किसान रासायनिक मल किन्नका लागि दिनहुँ सहकारी संस्थामा आउने गर्छन् तर मल नपाएपछि निराश भएर फर्कने गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–६ का ४० वर्षीय चम्कल चौधरीले धान रोपाइँ गर्ने समयसम्म पनि मल नपाएको दुखेसो गर्नुभयो । उहाँले आफूजस्ता गरीब किसानले अहिले मानो रोपेर मुरी उत्पादन गर्ने समयमा मल नपाउँदा धान रोपाइँ प्रभावित हुनुका साथै उत्पादनसमेत नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले पानीको समस्या थियो, अहिले मलको समस्या, धान ब्याड तयार छ मल छैन, कसरी रोपाइँ गर्ने ?” अहिले उहाँमात्र होइन यहाँका धेरै किसान रासायनिक मल नपाउँदा मर्कामा परेका छन् । उपमहानगरपालिका–१२ का किसान रामबहादुर घर्तीे पनि मल किन्नका लागि तुलसीपुर बजार आउने र रित्तै घर फकर्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसपटक धान उत्पादनमा कमी आउनेछ ।”

कृषि सामग्री केन्द्र तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले जिल्लामा लामो समयदेखि डिएपी मल नभएको बताउनुभयो । उहाँले मल उपलब्ध गराइदिनका लागि मन्त्रालयलाई पटक–पटक जानकारी गराएको पनि बताउनुभयो । उहाँले डिएपी मल अहिले धेरै जिल्लामा नभएको र छिट्टै आपूर्ति हुनेगरी सरकारले पहल गरिरहेको छ भन्नुभयो ।

सरकारी अनुदानको डिएपी मल वितरणको जिम्मा कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङ कम्पनीले पाएका छन् । डिएपी मल रोपाइँ गरेकै दिन हाल्नुपर्ने भएकाले पनि किसान मारमा परेका छन् । दाङमा हालसम्ममा ४२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अहिले यहाँका किसान रोपाइँ गर्नमा व्यस्त छन् । जिल्लामा कूल ३९ हजार हेक्टर जमीनमा धानखेती हँुदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!