कर्णालीमा कृषि तथ्याङ्क सङ्कलन गरिने

Posted on: 04 May, 2019

वैशाख २१, सुर्खेत (रासस) | कर्णाली प्रदेशका जिल्लामा कृषि तथ्याङ्क सङ्कलन गरिने भएको छ । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीको कृषि तथ्याङ्क सङ्कलन गर्न प्रदेशका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रसाशकीय अधिकृतसँग छलफल तथा अन्तरक्रिया गरेको छ । 

मन्त्रालयले आज स्थानीय तहसँग कृषि तथ्याङ्क सङ्कलन प्रशोधन, प्रविष्टि, अभिलेखीकरण र व्यवस्थापनसम्बन्धी कर्णालीका स्थानीय तहसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेकोे हो । कर्णालीको कृषि अवस्थाको तथ्याङ्क लिनका लागि स्थानीय तहसँग अन्तरक्रिया गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताउनुभयो । स्थानीयस्तरको आधारभूत तथ्याङ्क सङ्कलन गरी प्रदेशको एकीकृत तथ्याङ्क  बनाउन  स्थानीय तहसँग अन्तरक्रिया गरिएको उहाँले बताउनुभयो ।

मन्त्री केसीले अनलाइन सिस्टम र सप्टवेयरको विकास गरी कृषि तथ्याङ्कलाई व्यवस्थापन गरिने बताउनुभयो ।  “सबै स्थानीय तहमा एकरुपताका साथ सङ्कलन गरे मात्रै दोहोरोपन हुँदैन, यसले नीति तथा योजना निर्माणमा सहजता हुन्छ, त्यसैले प्रदेशभरिको विवरण थाहा पाउन एकरुपतामा काम खोजेको हौँ”, उहाँले भन्नुभयो । एकरुपतामा लिइएको विवरणले प्रदेशको नीति निर्माण गर्न सहजता हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले तीन तहका सरकारबीच उचित समन्वयबाट नीति तथा योजना निर्माण गरिने बताउनुभयो । सबै सरकारका  योजना निर्माणका लागि तथ्याङ्क महत्वपूर्ण हुने भएकाले सबै स्थानीय तहहरुले आफ्नो स्थानीय तहको तथ्याङ्कलाई व्यवस्थित गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रदेशले करोडमाथिका काम गर्ने

प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएकी मन्त्री केसीले प्रदेश सरकारले रु एक करोडमाथिका काम गर्ने बताउनुभयो । उहाँले साना काम स्थानीय तहले, मध्यमखालका काम प्रदेश सरकार र ठूला काम सङ्घीय सरकारले गर्नुपर्ने बताउनुभयो । “सबैको समन्वयबाट काम गरेमात्रै दोहोरोपन हट्छ, एक जनाले धेरै ठाउँबाट अनुदान पाउँदैन र सबै नागरिकले अनुदान पाउँछन्”, उहाँले भन्नुभयो । स्थानीय तहको सुझावका आधारमा कर्णालीको कृषि कार्यक्रम तथा योजना निर्माण गरिने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!