अब मध्यपुरथिमि नगरपालिकाले जापानीज प्रविधिबाट फोहोर व्यवस्थापन गरी कम्पोष्ट मल बनाउने

Posted on: 23 Sep, 2018

असोज ७, भक्तपुर (रासस) | प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले आज मध्यपुरथिमि नगरपालिकाले उत्पादन गरेको जापानीज प्रविधिबाट फोहोर व्यवस्थापन गरी कम्पोष्ट मल बनाउने केन्द्रको उद्घाटन गर्नुभएको छ । 

मध्यपुरथिमि वडा नं ४ विष्णु कुण्डलमा निर्माण भएको केन्द्रको आज उहाँले उद्घाटन गर्दै यसलाई नमूनाको रुपमा विकास गर्ने बताउनुभयो । थिमिको एउटा वडाबाट शुरु गरेको भए पनि यो परियोजना सफल भएसँगै प्रदेशका सबै स्थानीय तहमा सञ्चालन गरी प्रदेश नं ३ लाई अर्गानिक कृषि फार्मका रुपमा विकास गर्ने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “रासायनिक मलको अभाव भइरहने र यसले क्षणिक उत्पादन बढाए पनि माटो क्षयीकरण गर्दै लामो समय असर पार्ने भएकाले प्रत्येक वडामा कम्पोष्ट मल उत्पादन गरी कृषिमा लगाउन सके पर्याप्त फाइदा लिन सकिन्छ, यसतर्फ हाम्रो ध्यान केन्द्रित भएको छ ।” 

कार्यक्रममा प्रदेश नं ३ का प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले घरघरमा उत्पादन भएको फोहोरलाई मोहरमा परिणत गर्न नगरपालिका सक्रिय हुनुपर्ने बताउनुभयो । 

त्यसअवसरमा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले हाल ४ नं वडाबाट नमूनाको रुपमा शुरु भएको यो प्रविधिलाई विस्तार गर्दै प्रत्येक वडामा यस प्रकारको कम्पोष्ट मल उत्पादन केन्द्र बनाइने बताउनुभयो । उहाँले नगरपालिकाबाट हाल रु २ करोड लगानी गरेको र प्रदेश सरकारबाट रु ५० लाख अनुदान आउने भएको बताउँदै घरघमा फोहोर सङ्कलन गर्न बाल्टिनी वितरण गरिएको बताउनुभयो । 

घरघरमा वितरण गरिएको बाल्टिनीमा साताको एक पटक भान्छाबाट निस्कने कुहिने फोहोरलाई सङ्कलन गरी ल्याउने र केन्द्रमा राखेर त्यसलाई कम्पोष्ट मल बनाई नमूनाको रुपमा सोही मल प्रयोग गरी आफैले तरकारी उत्पादन गरेर प्रर्दशन गर्ने बताउनुभयो । नेपालमै पहिलो पटक शुरु भएको यो प्रविधिले कृषकलाई राहत मिल्नुका साथै तरकारी उत्पादनमा यसले ठूलो टेवा दिने बताउनुभयो । 

कार्यक्रममा जापानीज प्रविधि टोलीका तर्फबाट परियोजनाका बारेमा जापानीज नागरिक जुन खामो सिदाले मल उत्पादन गर्ने तरीकाबारे जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष कुमार श्रेष्ठ, परियोजनामा प्राविधिक सहयोग गर्ने रिशिका कम्पनीका प्रबन्ध निर्देशक उषा गिरी, उपभोक्ता समितिका अध्यक्ष बैकुण्ठ श्रेष्ठ लगायतले कम्पोष्ट मल उत्पादनले हुने फाइदाका बारेमा चर्चा गर्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!