महोत्तरीका उखु किसानले भुक्तानी पाएनन्

Posted on: 16 Aug, 2018

साउन ३१, बर्दिवास | महोत्तरीका किसानले बिक्री गरेको उखुको भुक्तानी पाएका छैनन् । 

गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर मिलले उखुको भुक्तानी दिन आलटाल गर्दा किसान मर्कामा परेका हुन् । उचित मूल्य निर्धारण र भुक्तानीको माग गर्र्दै यसअघि किसान एक महिना अनशन बसेका थिए । अनशन बसेका किसानलाई उद्योगमन्त्री मातृकाप्रसाद यादवले एक साताभित्रै भुक्तानी दिन सहमति गराएका थिए । किसानले अहिलेसम्म भुक्तानी पाउन सकेका छैनन् । 

सो मिलले किसानलाई गत वर्षको झण्डै रु एक अर्ब भुक्तानी गर्न बाँकी छ । मिलले किसानसँग उखु खरीदबापतको रु एक अर्ब चार करोड मात्र भुक्तानी गरेको छ । भुक्तानी गर्न मिलले आनाकानी गर्दै आएको छ । भुक्तानी पाउने निश्चित नभएको उखु उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले बताउनुभयो । “किसान ऋणमा डुबेका छन्,” उहाँले भन्नुभयो । 

उद्योगले गत वर्ष महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहट, सप्तरी, बारा र पर्साका किसानले उत्पादन गरेको ४२ लाख ५९ हजार ७७४ क्विन्टल उखु खरीद गरेको थियो । विसं २०५३ मा स्थापना भएको उक्त मिलले आफ्नै ढङ्गले मूल्य निर्धारण र भुक्तानी गर्दैआएको छ । गत वर्ष मिलले प्रतिक्विन्टल ५३१ रुपैयाँ २० पैसामा उखु खरीद गरेको थियो । 

उत्पादन गरेको चिनी बिक्री नभएका कारण उखुको भुक्तानी गर्न नसकेको मिलका महाप्रबन्धक युगलकिशोर चौरसियाले बताउनुभयो । “हाम्रो उत्पादनले बजार पाउन सकेको छैन, भारतीय चिनीका कारण समस्यामा छौँ,” उहाँले भन्नुभयो, “हाम्रो उत्पादन भण्डारगृहमा थन्किएको छ ।” प्रदेश नं २ को प्रमुख नगदेबाली मानिएको उखुखेतीमा करीब ९० हजार किसान संलग्न छन् । सरकारले प्रतिक्विन्टल उखुको ५३६ रुपैयाँ ४५ पैसा मूल्य निर्धारण गरेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!