कालिकोटमा ९० प्रतिशत रोपाइँ सकियो

Posted on: 17 Jul, 2018

साउन १, कालिकोट | असारको अन्तिमसम्म कालिकोटमा ९० प्रतिशत धान रोपाइँ भएको छ । जिल्ला कृषि विकास कार्यालय कालिकोटका अनुसार विगतका बर्षहरुमा खडेरी पर्दा साउन महिनामा रोपिने धान अहिले असारमै सकिएको हो ।

कालीकोटको कुल १७ हजार ९ सय ८४ हेक्टर खेतियोग्य जमिनमध्ये २ हजार ५ सय १५ हेक्टर जमिन धान खेती हुने गरेकोमा असार मसान्तसम्म २ हजार १२ हेक्टर जमिनमा धान रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयका बागबानी बिकास अधिकृत भक्तिराम शर्माले जानकारी दिए ।

समयमै धान खेती सकिए पछि कालकिोटमा धान उत्पादन बढ्ने अनुमान गरिएको छ । कृषिमा परनिर्भता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले जिल्लामा किसानलाई सक्रिय रुपमा व्यवसायिक बनाएर कृषिमा आत्मनिर्भर बनाउने भन्दै स्थानीय सरकारहरुले पनि बजेटमा कृषिलाई बिशेष प्राथमिकता दिएका छन् ।

जिल्लाका ९ वटै स्थानीय सरकारले बजेटमा समेत कृषिलाई प्राथमिक्ता दिएका छन् । कालिकोट जिल्लामा कुल ८ हजार ७ सय ५० हेक्टर जमिनमा मात्र खेती भईरहेको छ । यहाँका २ हजार ५ सय १५ हेक्टर जमिनमा धान खेती हुने र बाँकी जग्गामा मकै, कोदो, फापर, सिमीलगायतका रैथाने बालीहरु खेती गरिँदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!