नुवाकोटका ३० कृषि समूहलाई हाते ट्रयाक्टर प्रदान

Posted on: 16 Mar, 2018

त्रिशूली २, चैत | सहज रुपमा कृषि उत्पादन गराउनका लागि भन्दै शिवपुरीका कृषकलाई पावर ट्रिलर (हाते ट्रयाक्टर) वितरण गरिएको छ । 

गाउँपालिकाभरीका ३० कृषि सहकारी तथा कृषक समूहलाई यूएनडिपीको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र नेपालले शिवपुरी गाउँपालिकामार्फत ५० प्रतिशत अनुदानमा ट्रयाक्टर प्रदान गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ । 

कृषक समूह तथा कृषि सहकारी संस्थालाई कृषि उपकरण हस्तान्तरण गरेपछि गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले युवा रोजगारी र शिक्षाका लागि गाउँबाट लाखापाखा लागेका बेलामा उपकरण किसानको हातमा पुग्नु राम्रो भएको बताउनुभयो ।शिवपुरी–६ का वडाध्यक्ष लालबहादुर तामाङले सरकारले अब कृषिमा आधुनिक प्रविधि विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!