५५ किसानले उत्पादन गरेका कृषि उपज प्रदर्शनी सम्पन्न

Posted on: 03 Mar, 2018

फागुन १९, त्रिशूली (नुवाकोट) | स्थानीय उत्पादनको बजारीकरण र कृषकलाई प्रोत्साहन गर्ना लागि शिवपुरी गाउँपालिकामा सञ्चालित कृषि उपज प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ । 

शिवपुरी – ७, रचनडाडाँमा आयोजित एकदिने कृषि उपज प्रदर्शनीमा ५५ किसानले उत्पादन गरेका कृषि उपज प्रदर्शनी गरिएको थियो । गाउँमा कृषिसँग कार्यक्रम सञ्चालन गर्दै आएको ग्रामीण स्वावलम्ब केन्द्रको आयोजनामा भएको प्रदर्शनीको उद्घाटन गर्दै प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले किसानको बजारसँग सहज पहुँच विस्तार गर्ने र बिचौलियालाई रोक्नका लागि सरकारी तथा अन्य सरोकारयुक्त निकायले काम गर्नुपर्ने बताउनुभयो । 

शिवपुरी–७ का वडास्तरीय कृषक सञ्जालका अध्यक्ष सन्तबहादुर तामाङले बजारसम्मको सहज पहुँच विकास र सहज रुपमा बीउविजन उपलब्ध गराउन माग गर्नुभयो । 

प्रदर्शनीमा केराउ, गोलभेंडा, आलु, बन्दा, काउली, साग, गाजर, मुला, अदुवा, लसुन, प्याज, बकुल्ला, फर्सी, केरा, उखु, कागती, अलैंची, सीताके च्याउ, मेवा, भुइँस्याउलगायत उत्पादन राखिएका थिए । 

प्रदर्शनीमा उत्कृष्ट किसानलाई पुरस्कृत पनि गरिएको थियो । तरकारी बालीमा धनमाया तामाङ (सीताके च्याउ), फलफूल बालीमा सीता सुनार (मेवा) र मसला बालीमा जुना तामाङ (अलैंची) पहिलो र रत्नबहादुर डंगोल उत्कृष्ट कृषक घोषित भई पुरस्कृत हुन सफल भएको कार्यक्रम संयोजक साधुराम सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा तरकारी संकलन केन्द्र निर्माणका लागि जग्गा उपलब्ध गराउने चन्द्रबहादुर डंगोललाई सम्मान गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!