धनुषामा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट तीन पुरस्कृत

Posted on: 18 Nov, 2016

मङ्सिर ३, धनुषा । जिल्ला कृषि विकास कार्यालय धनुषाले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धनुषाका तीनजना किसानलाई पुरस्कृत गरेको छ । 

कार्यालयले ३६औँ विश्व खाद्य दिवसका अवसरमा बिहीबार एक विशेष कार्यक्रमको आयोजना गरेर कृषितर्फ विभिन्न विधामा उत्कृष्ट भएकामध्ये खाद्यान्न बालीतर्फ बनिनियाँ गाविसका कारी यादव, तरकारी बालीतर्फ बेंगाडाबर गाविसका राजकुमार महतो र फलफूलतर्फ लक्ष्मीनिवास गाविसका सोनाकुमारी महतोलाई पुरस्कृत गरिएको छ । उक्त पुरस्कारको राशि दश–दश हजार रुपैयाँ रहेको छ । 

कार्यक्रमका प्रमुख अतिथि धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने र स्थानीय विकास अधिकारी सन्तबहादुर सुनारले उत्कृष्ट किसानलाई पुरस्कार प्रदान गर्नुभएको थियो । 

त्यसैगरी, जिल्ला कृषि विकास कार्यालय, धनुषाले असोजमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी निबन्ध प्रतियोगिताका विजयीलाई समेत पुरस्कृत गरिएको छ । 

प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेका वहुअर्वा माविका धनन्जयकुमार मण्डल, द्वितीय स्थान प्राप्त गरेका ओम आरसिएसका आदित्यराज यादव, तृतीय स्थान प्राप्त गरेका बहुअर्वा माविकै प्रिया झा र सान्त्वना स्थान प्राप्त गरेका ओमआरसिएसका आचल साहलाई क्रमशः रु दुई हजार, एक हजार पाँच सय, एक हजार र आठ सय नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सहायक प्रजिअ लामिछानेले जलवायु परिवर्तनले समग्र कृषिक्षेत्रमा पारिरहेको असरतर्फ किसानलाई सचेत हुन आग्रह गर्नुभएको थियो । कार्यक्रम सिँचाइ महासङ्घका जिल्ला अध्यक्ष कारी यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!