बैतडीका महिलाहरु व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित

Posted on: 29 Sep, 2016

 असोज १३, बैतडी । गुरुखोला गाविस–८ सतबाँझका महिला व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । 

तरकारीबाट फाइदा हुने भएकाले उनीहरु महिला कृषक समूह गठन गरेर व्यावसायिक तरकारी खेतीमा लागेका छन् । परम्परागत रुपमा लगाइने धान, मकै, गहुँलगायत बालीबाट खासै उत्पादन लिन नसकेपछि उनीहरु तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । 

मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका महिलाले अहिले वार्षिक रु एक लाखभन्दा बढी आम्दानी गर्दैआउनुभएको छ । करिब दुई दशकदेखि तरकारी खेतीको सुरुवात गरेका उनीहरु पछिल्लो समय महारुद्र कृषक समूह गठन गरी सामूहिक तरकारीखेतीमा लागेका छन् । 

एकापसमा कृषि अनुभव साटासाट गर्न सामूहिक तरकारी खेती सुरु गरेको महारुद्र महिला कृषक समूहका उपाध्यक्ष राधा भट्ट बताउनुहुन्छ । बीस जना महिला मिलेर सामूहिक तरकारीखेती सुरु गरेपछि उनीहरु सबै जना आत्मनिर्भर बनेका छन् । 

तरकारी खेतीमा लागेपछि घरपरिवार चलाउन सहज हुनुका साथै महिलाको आर्थिक अवस्था बलियो भएको छ । “वार्षिक रु एक लाखदेखि रु दुई लाखसम्म बचत गर्ने गरेका छौँ,” भट्टले भन्नुभयो । समूहमा आबद्ध भएसँगै अहिले किसान परियोजनाले तरकारीखेती गर्न प्राविधिक सहयोग गरेपछि उनीहरुलाई सजिलो भएको छ । 

युएसएआइडीको सहयोगमा किसान परियोजनाले तरकारी खेती गर्न अपनाउने तरिका, रोग किराको प्रकोप हटाउने विधि र समय–समयमा आवश्यक तालिम तथा उन्नत बीउ समेत उपलब्ध गराउँदै आएको किसान परियोजनाका कृषि कार्यक्रम अधिकृत अनुप वमले बताउनुभयो । 

तरकारी बेचेर आम्दानी हुन थालेपछि महिलाको दैनिकी फेरिएको छ । सामान्य घरखर्च चलाउन, नुनतेल किन्न समेत श्रीमान्को भर पर्ने अवस्था अहिले हट्दै गएको छ । आफैँ घरखर्च चलाउनेदेखि बचत समेत गर्न थालेका समूहका अध्यक्ष भागरथी भट्टले बताउनुभयो । साठी रोपनीमा तरकारी खेती सुरु गरेका उनीहरुको बारीमा अहिले काउली, बन्दागोभी, खुर्सानी, भन्टा, प्याज, लसुन, तिते करेलालगायत तरकारी रहेका छन् । 

यस्तै उनीहरुले प्लास्टिक टनेल बनाएर गोलभेँडा रोपेका छन् । “अन्न फलाउनुभन्दा तरकारी फलाउन सजिलो हुँदो रहेछ,” अध्यक्ष भट्टले भन्नुभयो– “मनग्य आम्दानी हुने भएपछि यसतर्फ आकर्षण बढ्दै गएको छ ।” तरकारी फलाएर घरखर्च मात्र होइन बचत समेत गर्ने गरेका छन् । 

विगतमा गाउँमा बढी उत्पादन भएको तरकारी गाईवस्तुलाई समेत खुवाउनुपर्ने अवस्था थियो । तर अहिले तरकारीले बजार पाउन थालेको छ । महिला कृषि पेसामा लागेपछि परिवर्तन आएको भन्दै व्यावसायिक साक्षरता कक्षा र किसानमा किसान परियोजनाले प्रदान गरेको सीपले कृषिलाई आधुनिकीकरण गर्नमा सहयोग गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारी बताउनुहुन्छ । 

पछिल्लो समय जिल्लाको ग्रामीण क्षेत्रमा सडक सञ्जाल विस्तार भएसँगै दुर्गम गाविसमा समेत तरकारी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । यहाँ उत्पादित तरकारी स्थानीय बजार, सदरमुकामहुँदै तराईका विभिन्न जिल्लामा समेत खपत हुने गरेको बताइएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!