वैदेशिक रोजगारलगायत विभिन्न बहानामा मानव बेचबिखनमा परेका ३० जनाको उद्धार

Posted on: 18 Feb, 2023

फागुन ६, काठमाडौँ | वैदेशिक रोजगारलगायत विभिन्न बहानामा मानव बेचबिखनका घटना दिनदिनै बढिरहेका छन् । प्रहरीको निगरानी तथा सचेतना अभियानका बाबजुद पनि बेचबिखनका घटना देखिँदै आएका छन् । 

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँका अनुसार माघमा मात्रै विभिन्न मुलुकमा बेचबिखनमा परेका ३० जनाको उद्धार गरिएको छ । त्यसमध्ये भारतबाट मात्रै १५ महिला र चार बालबालिकाको उद्धार गरिएको तथा कुवेतबाट छ महिला, ओमनबाट दुई महिला, इराकबाट एक महिला र नेपालभित्रै आन्तरिक बेचबिखनमा परेका दुई जनाको उद्धार गरिएको ब्युरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आकर्षक वैदेशिक रोजगारीको बहानामा पर्यटक भिसाको दुरुपयोग गरी विभिन्न दलाल तथा म्यानपावर कम्पनीले भ्रमण भिसामा विदेश जाने कागजातको न्यूनतम प्रक्रियासमेत पूरा नगरी नक्कली कागजात बनाइ उनीहरुलाई विदेश पठाएको पाइएको छ ।

त्यसैगरी विदेश जान लागेको र मानव बेचबिखनको उच्च जोखिममा पर्ने देखिएका दुई सय ५० जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ब्युरोको प्रहरी टोलीले फिर्ता गराएको पनि उहाँले जानकारी दिनुभयो । 

यस्तै माघमा मानव बेचबिखन तथा ओसारपसार कसुर गरेको आरोपमा चार जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी रहेको जनाइएको छ । गएको एक महिनामा एक महिला र पाँच पुरुष गरी छ जनामाथि अनुसन्धान सम्पन्न गरी अदालतमा मुद्दा चलाइएकामा उनीहरु पूर्वपक्षका लागि कारागार चलान भएका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!