मोरङमा एकैदिन दुईजना महिलामाथि सामूहिक बलात्कार

Posted on: 03 Sep, 2022

भदौ १८, विराटनगर | मोरङको फरक फरक  स्थानमा युवती र महिलामाथि सामूहिक बलात्कार भएको छ । विराटनगर महानगरपालिका र जहदा गाउँपालिकामा एकैरात घटना भएको प्रहरीले जनाएको छ। 

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठकाअनुसार विराटनगर महानगरपालिका–१४ जतुवाको महतो टोलस्थित नहरमा १८ वर्षीया युवतीमाथि ५ जनाको समूहले सामूहिक बलात्कार गरे थिए |

युवती चिनजानकै एक जना युवासँग गफ गरेर बसिरहेकी थिइन्। त्यही बेला मादक पदार्थ सेवन गरेर आइपुगेको पाँच जनाको समूहले दुवै जनालाई नियन्त्रणमा लिएको थियो। 

नियन्त्रणमा लिएर उनीहरूमाथि लाट्ठी, भाटा र मुक्का प्रहार गरिएको प्रहरीले जनाएको छ। उक्त समूहको नियन्त्रणबाट युवा फुत्किएर भाग्न सफल भए। तर त्यही समूहले युवतीलाई भने आफ्नो कब्जामा लिएर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार फुत्किएर भागेका युवाले गाउँमा गएर होहल्ला गर्न थालेपछि स्थानीय भेला भए। स्थानीय भेला हुन थालेपछि युवतीलाई छाडेर बलात्कारमा संलग्नहरू फरार भएका थिए। 

घटनामा संलग्न रहेकामध्ये एक जनालाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार विराटनगर–१४ का २९ वर्षीय सन्तोष मण्डललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ। घटनामा संलग्न अन्य ४ जना युवा फरार छन् | फरारको खोजी भइरहेको प्रहरीले बताएको छ ।

यस्तै, मोरङको जहदा गाउँपालिका–७ मा २ जना युवाले महिलामाथि सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ | घरमा सुतिरहेकी अन्दाजी ३५ वर्षीया महिलालाई चिनजानकै दुई युवाले काम छ भन्दै बोलाएर घर नजिकै खेतमा लगेर सामूहिक बलात्कार गरेको डीएसपी श्रेष्ठले बताए। 

घरमा फर्किएर महिलाले आफ्ना पतिलाई सुनाएपछि घटना सार्वजनिक भएको हो। घटनाका बारेमा प्रहरीमा शुक्रबार दिउँसो १ बजेतिर मात्रै जानकारी आएको प्रहरीले जनाएको छ।

घटना सार्वजनिक हुनेवित्तिकै बलात्कारमा संलग्न जहदा–७ का २४ वर्षीय राहुल साह र २८ वर्षीय सञ्जय सोरेनलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए।

प्रहरीका अनुसार भारततिर भाग्न खोज्दै गर्दा दुवै जनालाई पक्राउ गर्न सफल भएको बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!