ठमेलबाट विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न एक जना चिनियाँसहित चार जना पक्राउ

Posted on: 28 Jul, 2022

साउन १२, काठमाडौं | काठमाडौं महानगरपालिका–२६ ठमेलबाट विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजि समेत ४ जना रहेका छन् । उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खानतलासी गर्दा विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङ खेलाउन प्रयोग भएका ४ सय ७२ थान मोबाइलसहित उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट २६ थान ल्यापटप, १ हजार ६२० थान एनसेलको सिमकार्ड, २० थान स्मार्टको सिमकार्ड, १० थान पेनड्राईभ र १ लाख ९० हजार रूपैयाँ मूल्य बराबरको एनसेलको रिचार्ज कार्ड पनि बरामद गरिएको प्रहरीले जनाएको छ । 

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!