अश्लील म्यासेज पठाउने रुपन्देहीको कल सेन्टरमा प्रहरीको छापा, १५० युवायुवती पक्राउ

Posted on: 24 Jul, 2022

साउन ८, बुटवल | प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ स्थित एक कल सेन्टरमा छापा मारी १५० युवायुवतीलाई पक्राउ गरेको छ । एक भारतीय र दुई नेपालीले घर भाडामा लिएर सञ्चालन गर्दै आएको कल सेन्टरमा प्रहरीले छापा मारेको हो । 

तिलोत्तमाको जानकीनगरस्थित भवनमा तीन वटा फ्ल्याट भाडामा लिइ कल सेन्टर सञ्चालन गरिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको अनुसन्धानबाट भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्‍यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको छ । पक्राउ पर्ने युवायुवतीहरू भने कार्यालयका कर्मचारी मात्रै हुन् । उनीहरूले आफूहरू जब लिंक भन्ने संस्थामार्फत यहाँ काममा आएको बताएका छन् । सो कल सेन्टरमा अवैध काम हुने गरेको सूचनाका आधारमा छापा मारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले बताए । प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!